द सिनेमा टाइम्स, काठमाडौं । म्याडक फिल्मस्ले बलिउडमा हरर-थ्रिलर युनिभर्सको सुरुवात गरेको छ । सिनेमा निर्माता दिनेश विजन र निर्देशक अमर कौशिकको प्रस्तुतिमा निर्माण भएको ‘थामा’को आधिकारिक टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा दर्शकलाई डर, रहस्य र रोमान्सले भरिएको भिन्न संसार देखाइएको छ । अन्धकारमय वातावरण, पुराना हवेली, अनौठा चिहानघर, रहस्यमयी आवाज र अनपेक्षित मोडहरूले यसलाई सामान्य डराउन मात्र होइन, मानसिक रूपमा झस्काउने कथा हुने संकेत ‘थामा’को टिजरले गरेको छ ।
सिनेमामा आयुष्मान खुराना, रश्मिका मन्दाना, परेश रावल र नवाजुद्दिन सिद्दीकी प्रमुख भूमिकामा देखिनेछन् । टिजरले उनीहरूको चरित्रबारे स्पष्ट खुलासा नगरे पनि, चारै जना फरक–फरक शक्तिसँग जोडिएका पात्रका रूपमा प्रस्तुत हुने अनुमान गरिएको छ ।
आदित्य सरपोरदारले निर्देशन गरेको सिनेमालाई निर्माताले यो साधारण सिनेमा नभई एक ‘युनिभर्स’को सुरुवात भनेका छन्, जसमा आगामी दिनमा थप कथाहरू जोडिँदै जानेछन् । ‘थामा’ आगामी तिहारको अवसरमा विश्वव्यापी प्रदर्शनमा आउने छ ।


प्रतिक्रिया