द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले ६० वटा सिनेमा हलमा बक्सअफिस प्रणाली अनुगमन गर्दा दुईवटामा म्यानुअल टिकट बिक्री गरेको भेटिएको पाइएको बताएको छ ।
बोर्डले २०८२ साउन २९ गतेदेखि भदौ ४ गतेसम्म काठमाडौं उपत्यकासहित मोफसलका विभिन्न जिल्लामा बक्सअफिस प्रणालीको अनुगमन गरेको थियो ।
बोर्ड सदस्य गणेश सुबेदीसहित २२ जनाको टोलीले गोरखा, तनहुँ, कास्की, रुपन्देही, नवलपरासी, पाल्पालगायत जिल्लाका ६० वटा सिनेमा घर निरीक्षण गरेको बोर्डले जनाएको छ ।
अनुगमनका क्रममा अधिकांश हलले बक्सअफिस प्रणाली अनुसार टिकट बिक्री गरेपनि दुईवटाले सिंगल थिएटरमा ‘सिस्टम बिग्रिएको’ भन्दै म्यानुअल टिकट बिक्री भइरहेको फेला परेको बोर्डको भनाइ छ ।
बोर्डलाई जानकारी नदिई म्यानुअल टिकट बिक्री गरेकाले ती हललाई नियमानुसार जरिवाना गरिने बोर्डले जनाएको छ ।
यसअघि २०८१ मंसिरमा १४ जिल्लामा गरिएको अनुगमनका क्रममा अवैधानिक रूपमा सञ्चालन भइरहेका ९ हल कारबाहीमा परेका थिए । तीनवटा हलमा जिल्ला प्रशासनको समन्वयमा ताल्चा लगाइएको थियो ।
बोर्डले बक्सअफिस प्रणाली लागु भए नभएको नियमित अनुगमन गर्ने बताएको छ ।


प्रतिक्रिया