‘गुन्यु चोलो : द ड्रेस’को कथाको मर्म बुझउने गीत सार्वजनिक

‘गुन्यु चोलो : द ड्रेस’को कथाको मर्म बुझउने गीत सार्वजनिक

द सिनेमा टाइम्स
21
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी भदौ १३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’को कथाको मर्म बुझउने गीत सार्वजनिक भएको छ । यो गीतमा लेखु सहयात्रीको संगीत, समुन्द्र भट्ट र रेखा पन्तको शब्द रचना, केतन क्षेत्र तथा बिशम आचार्यको स्वर छ ।

स्याड भर्सनमा तयार पारिएको गीतले फरक लैंगिक पहिचानकै कारण मान्छेको दर्जा नपाउने कारुणिक यथार्थ समेटेको छ । तेस्रो लिंगीलाई मान्छेको रूपमा स्वीकार नगर्ने समाजको चित्रण छ । एउटै आमाको कोखबाट जन्मिएको सन्तान तेस्रोलिंगी भएपछि फरक ग्रहबाट आएको झैँ गर्ने समाजबारे उल्लेख गरिएको गीतमा तेस्रोलिंगीलाई मानवको रूपमा व्यवहार गरिदिन गरेको संघर्ष देखिन्छ ।

समुन्द्र भट्टको निर्देशन रहेको सिनेमा ‘गुन्यु चोलो : द ड्रेस’ लैंगिक अल्पसंख्यक पात्रको कथामा निर्माण गरिएको हो । यसमा नाजिर हुसेनको मुख्य भूमिका छ । उनले पारालैंगिक महिला (ट्रान्सवुमन)को भूमिका निर्वाह गरेका छन् । उनीसहित सिनेमामा सञ्चिता लुइँटेल, सुशील सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ र विशाल पहारीले पनि महत्वपूर्ण भूमिका निर्वाह गरेका छन् ।

नेपालको पहिलो पूर्णरूपको ट्रान्स स्टोरीमा निर्मित यो सिनेमाको अन्तर्राष्ट्रिय वितरण अधिकार अमेरिकाको बफेलो एट्लेले किनेको छ । सिनेमाको सम्पूर्ण पोस्ट प्रोडक्सनको काम अमेरिकामा गरिएको हो । हलिउडकी कलाकार लिजा जेरार्डले स्वर दिएको सिनेमामा ब्याकग्राउन्ड म्युजिक मार्सेलो दी फ्रान्सिसीको छ ।

सिनेमामा आकाश बुढाथोकी र भि-भन्से जानुबोनको लगानी छ । जेफ्री जे वेन र स्टिभ जोन्स्टन कार्यकारी निर्माता रहेको सिनेमाको सहयोगी निर्माता अनुपम श्रेष्ठ हुन् । आलोक शुक्लाले खिचेको सिनेमा अमेरिकाको प्रतिष्ठित तस्वीर सिनेमा मार्केटमा छनोट भएको थियो ।