‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक, ‘पूर्णबहादुरको सारङ्गी’को वीरे क्यारेक्टरमा देखिए मुकुन

‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक, ‘पूर्णबहादुरको सारङ्गी’को वीरे क्यारेक्टरमा देखिए मुकुन

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । भदौ १२ गते बिहीबारबाट प्रदर्शनमा आउने सिनेमा ‘कोशेढुंगा’को नयाँ गीत ‘हे बरै’ सार्वजनिक भएको छ । झलकमान गन्धर्वको गीत ‘हे बरै’लाई पुनः रेकर्ड गर्दै निर्माण पक्षले यो सिनेमामा समावेश गरेको हो ।

परदेशिएको छोरो परिबन्धमा परेर घर फर्किन नसक्ने अवस्था चित्रण गरिएको यो मार्मिक गीतमा अहिलेका चर्चित संगीतकार तथा गायक आशिष अविरलको स्वर सुन्न सकिन्छ । नेपाली लोक संगीतका लिजेन्ड गन्धर्वप्रति समर्पित गर्दै यो गीत पुनः रेकर्ड गरेर सिनेमामा राखिएको हो ।

परिवारको दुःख हटाउन परदेश गएको परिवारको मुख्य सदस्य दुश्मनको घेरामा परेपछि जिन्दगीको अन्तिम घडीमा परिवारलाई कसरी सम्बोधन गर्दै बिदा माग्छ, त्यो भाव गीतमा समेटिएको छ ।

यो गीतको भिडियोमा अभिनेता मुकुन भुसाल सारंगी बजाउँदै हिँड्ने चरित्रमा देखिएका छन् । यो पात्र ‘पूर्णबहादुरको सारङ्गी’को वीरेको क्यारेक्टरबाट लिइएको हो । गीतको भिडियोमा वीरेको गेटअपमा मुकुनलाई देख्न सकिन्छ । उनले गाडीमा यो गीत गाइरहँदा मार्मिक र भावनात्मक माहोल सिर्जना हुन्छ ।

सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’का निर्देशक सरोज पौडेलको नयाँ सिनेमा ‘कोशेढुङ्गा’मा सुरक्षा पन्त, आर्यन सिग्देल, ऋचा शर्मा, नीति शाह, प्रवीण खतिवडा, मन्जिल कुमार, सरोज खनाल, हिउँवाला गौतम, स्नेहा जोशी, सविता रेग्मी लगायतको अभिनय रहेको छ । यसमा निर्देशक पौडेल स्वयंको लेखन छ । उनलाई सुनिल निउरे र सुबलमणि सापकोटाले लेखनमा सघाएका छन् ।

नरदेवी फिल्मस् र सारंगी फिल्मस्ले निर्माणमा सहकार्य गरेको ‘कोशेढुंगा’को निर्माता प्रेविल कँडेल र किशोर अनुराग तथा कार्यकारी निर्माता दिनेश खड्का हुन् । बाबु श्रेष्ठको छायांकन रहेको सिनेमामा नहकुल खड्काको सम्पादन तथा आशिष अविरल र रिदम कँडेलको संगीत छ । सेभेन सिज इन्टरनेशनलले विदेश वितरणको जिम्मा लिएको यो सिनेमा नेपालसहित ४२ भन्दा धेरै देशमा एकसाथ रिलिज हुने जनाइएको छ ।