द सिनेमा टाइम्स, काठमाडौं । आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको सिनेमा ‘हरिबहादुरको जुत्ता’को टिजर सार्वजनिक गरिएको छ । बुधबार सार्वजनिक सिनेमाको २ मिनेट लामो टिजरमा सिनेमाका मुख्य अभिनेता हरिवंश आचार्य हाबी देखिएका छन् । उनलाई टेलिभिजनको चर्चित पात्र हरिबहादुरको भूमिकामा देख्न सकिन्छ ।
चोरीको आरोपमा जेल जीवन भोगेपछि हरिबहादुरले समाजमा पुन: स्थापित हुन गरेको संघर्षलाई टिजरले हास्य शैलीमा प्रस्तुत गरेको छ । जसमा हरिबहादुर पात्रलाई सिरियलभन्दा फरक आयाममा उतारिएको छ । टेलिभिजनमा चतुर चोर र ठगको रूपमा चिनिएको हरिबहादुर, सिनेमामा भने जीवनका पीडा, संवेदना र समाजसँग जुधिरहेको देखिन्छ ।
टिजरमा हरिवंशसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, प्रकाश सपूत, दिव्य देव, हरिहर शर्मा, कमलममणी नेपाल, निर्मल शर्मा, राजाराम पौडेल, दिनेश काफ्ले लगायतका कलाकारको अभिनय समेटिएको छ । टिजरले सिनेमाको कथामा राजनीति पनि महत्त्वपूर्ण पाटो हुने संकेत गरेको छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो सिनेमालाई दीपेन्द्र के खनालले निर्देशन गरेका हुन् । हरिवंश आचार्यको लेखन रहेको सिनेमामा सरोज ओली र मोहितवंश आचार्य निर्मातामा छन् । सिनेमामा कृष्ण बहादुर थापा छायांकन, नकुल खड्का सम्पादन, राज कुमार उप्रेती द्वन्द्व निर्देशक तथा वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपूत संगीतकारको रूपमा रहेका छन् ।


प्रतिक्रिया