द सिनेमा टाइम्स, काठमाडौं । आगामी दशैंको फूलपाती अर्थात् असोज १३ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘माइतीघर’को शिर्षक गीत सार्वजनिक भएको छ । ११ दिन लगाएर ५० लाख खर्च गरिएको गीतको भिडियोमा सिनेमाका दुई मुख्य अभिनेत्री उपासना सिंह ठकुरी र श्यामाश्री शेर्पा फिचर्ड छन् ।
बलिउडकी चर्चित गायिका आशा भोस्लेको स्वरमा रहेको ‘बसन्त नै बस्न खोज्छ यहाँ लोलाएर’ पुनःरेकर्ड गरेर सार्वजनिक गरिएको हो । यो गीतको नयाँ भर्सनमा समेत बलिउडकी अर्की सफल गायिका संजीवनीले स्वर दिएकी छन् । कविराज गगहराजको कोरियोग्राफी रहेको गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको आभाष गर्न सकिन्छ । यो गीतले पुरानो जस्तै दर्शक तथा श्रोताको माया पाउने विश्वास निर्माता रोहित अधिकारीको छ ।
यो गीतमा किरण खरेलको शब्द, स्वर्गीय जयदेवको संगीत छ । भिडियोको कोरियोग्राफी लोभलाग्दो छ । लोकेशन र छायांकनपक्षले पनि दर्शकलाई आकर्षित गर्ने देखिन्छ । भिडियोमा हरेक शब्दले खोजेको लोकेशन छनोट गरिएको छ । मानकृष्ण महर्जन र सुशन प्रजापतिको छायांकन रहेको सिनेमामा सुरेन्द्र पौडेलको सम्पादन छ ।
सिनेमामा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ, शिशिर वाङ्देल, रजनी गुरुङ, सन्तोष शाही, फूलकुमार बमजम, संगीता थापा लगायतका कलाकारहरुको अभिनय छ । चन्द्रकुमार दोङको कथा रहेको सिनेमाले दर्शकको माया पाउने विश्वास गरिएको छ ।
यो गीतको भिडियो प्रतियोगीताको समेत घोषणा भइसकेको छ । ४० सेकेन्डदेखि २ मिनेटसम्मको भिडियो बनाउनेमध्ये एक जना उत्कृष्ट दर्शकलाई ५ लाख नगद पुरस्कार दिने घोषणा सिनेमाका प्रस्तुतकर्ता रोहित अधिकारीले गरिसकेका छन् । गीत सार्वजनिक भएसँगै अब दर्शकले भिडियो बनाउन सक्नेछन् ।
मिलन तामाङको निर्देशनमा तयार भएको यो सिनेमामा रबिन शेरचन र धिरज तामाङको लगानी छ । ईश्वर श्रेष्ठ र निरज कटुवाल कार्यकारी निर्माता रहेको सिनेमामा रामशरण पाठकको लेखन छ ।


प्रतिक्रिया