अमेरिकाबाट ‘बलिदान’ले यसरी सुरु गर्यो आक्रामक ओपनिङको संकेत

अमेरिकाबाट ‘बलिदान’ले यसरी सुरु गर्यो आक्रामक ओपनिङको संकेत


द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै सर्वाधिक प्रतिक्षित सिनेमा हो ‘बलिदान’ । समीर भट्ट मुख्य भूमिकामा रहेका कारण पनि यतिबेला यो सिनेमा चर्चामा छ ।

सिनेमाको व्यग्र प्रतिक्षा दर्शकमा रहिरहँदा यसको निर्माणपक्षलाई खुसी बनाउने खबर आएको छ । अमेरिकाका हलमा यो सिनेमाको रिलिजको खबरले पनि यसको हाइप र दर्शकमा रहेको क्रेज प्रष्ट पार्छ ।

दशैँको फूलपातीको दिन रिलिज ‘बलिदान’ले अन्तर्राष्ट्रिय बजारमा नेपाली सिनेमाको लागि इतिहास रचेको छ । अमेरिकामा हल र शो संख्यामा यसले इतिहास रचेको छ ।

सन्तोष सेनको निर्देशन तथा समीर भट्टको अभिनय रहेको यो सिनेमा पहिलो पटक अमेरिकाको सबैभन्दा ठूलो सिनेमा चेन एएमसीमा प्रदर्शन हुने भएको छ । यो चेनमा ‘बलिदान’को पोस्टर लागिसकेको छ ।

‘बलिदान’ अमेरिकाभरका २०० भन्दा बढी हलहरूमा एक हजार भन्दा बढी शो सहित प्रदर्शन हुने अपेक्षा गरिएको निर्देशक सेनले बताएका छन् ।

यसअघि कुनै पनि नेपाली सिनेमा एएमसी चेनमा प्रदर्शन भएको छैन । इतिहास तोड्दै ‘बलिदान’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पु¥याएको सेनले दाबी गरेका छन् ।

एएमसी मात्र नभई सिनेमार्क, मार्कस र रेगलजस्ता अन्य प्रतिष्ठित अमेरिकी सिनेमा चेनहरूमा समेत ‘बलिदान’ प्रदर्शन हुने भएको छ । अमेरिकामा यी चेनमा हुने रिलिज शोले यसको आक्रामक ओपनिङ निश्चित भइसकेको छ ।

अमेरिकाजस्तै अन्य देशमा पनि यो सिनेमाले हल र शो पाउने निर्देशक सेनले बताएका छन् ।

‘बलिदान’का यसअघि सार्वजनिक गरिएका पोस्टर तथा टिजरले नै सिनेमाप्रति व्यापक उत्साह जगाएको छ । यस सिनेमामा समीरका साथै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी, सन्तोष सेन लगायतको अभिनय रहेको छ ।

आशुसेन फिल्म्सको प्रस्तुतिमा पवन ब्राडफोर्ड बिस्ट निर्माता र प्रेम पुरी कार्यकारी निर्माता रहेको ‘बलिदान’लाई नेपाली सिनेमाको साहसी कदमको रूपमा लिइएको छ ।