द सिनेमा टाइम्स, काठमाडौं । दयाहाङ राई र रिश्मा गुरुङ स्टारर सिनेमा ‘रिमै’ यही शुक्रबारबााट रिलिज हुँदैछ । गुरुङ समुदायको कथा ‘रिमै’ले देखाउनेछ ।
‘रिमै’ कि अभिनेत्री रिस्मा गुरुङ यो सिनेमामार्फत करिब ८ वर्षपछि फर्किएकी छिन् । जबकी दयाहाङ र उनको जोडी काजी र मैयाका रूपमा रुचाइएको थियो ।
तर, उनी नौ वर्ष सिनेमा क्षेत्रबाटै गायब भइन् । उनी अमेरिकामा बस्न थालेपछि सिनेमा देखिन छोडेकी थिइन् । अमेरिकामा काम गर्दै सेटल हुने चरणमा रहेका बेला उनी फेरि फर्किइन् र दयाहाङसँगै दर्शकसामु आउने तयारीका छिन् ।
रिश्मा गुरुङ, गुरुङ समुदायकै कथा भएकाले लामो समयपछि छ सिनेमामा फर्किएको बताउँछिन् । गुरुङ समुदायको कथा नभएर अरु सिनेमा भएको भए सायद आफू ‘रिमै’ खेल्दिन होला भन्छिन् उनी ।
‘मेरै अथवा गुरुङ जातिकै संस्कार र संस्कृति समेटिएको कथा छ भने किन काम नगर्ने भनेर समय नहुँदा नहुँदै पनि काम गरेको हुँ,’ रिस्मा भन्छिन्, ‘यो सिनेमाका लागि अफर आउँदा सुरुमा त म काम गर्दिनँ भनेँ । तर, जब स्क्रिप्ट आयो त्यसपछि किन गर्ने भन्दा पनि किन नगर्ने भन्ने प्रश्न चाहिँ आयो ।’
निर्देशक पनि आफैँले चिनेको नाता कै व्यक्ति पर्ने र उनले तिमी नभए यो सिनेमै नबनाउने बताएपछि आफू अमेरिकाबाट आएको उनले बताइन् ।
‘सुरुमा त मलाई फुर्काएजस्तो लागेको थियो । तर, पछि यहाँ आएपछि दया दाइहरूसँग हुँदा पनि त्यसै भनेपछि हो रहेछ भन्ने लाग्यो, उनले भनिन्, ‘पछि काम सक्न धेरै समय लागेपछि म माइन्ड गर्दिनँ, मेरो ठाउँमा अरु राख्नुस्, मलाई ढिलो हुन्छ म अमेरिका फर्किन्छु भन्दा पनि होइन तिमी नभए सिनैमा नै बनाउन बीचमै छोड्दिन्छौँ भनेपछि मैले काम गरेको हुँ ।’
गुरुङ समुदायको मेनस्ट्रिममा बनेको पहिलो सिनेमा भएकाले आफूले ‘रिमै’मा काम गरेको उनले सुनाइन् । अमेरिकामा भर्खर सेटल भएको काम छोडेर यही सिनेमाका लागि आएको उनको भनाइ छ ।
गुरुङ समुदायमा छोरीहरूको छोराभन्दा महत्व धेरै हुने रिश्मा बताउँछिन् । ‘अरु समुदायमा बाबु वा आमाको मृत्यु हुँदा अन्तिम संस्कार गर्न छोरा चाहिन्छ, छोरी नभए पनि हुन्छ,’ रिस्मा भन्छिन्, ‘तर, हाम्रो गुरुङ जातिमा शव उठाउन छोरा नभए पनि हुन्छ तर छोरी अनिवार्य चाहिन्छ । छोरी नभएसम्म घरबाट लास उठाउँनै मिल्दैन ।’
त्यसैले गुरुङ जातिमा छोराभन्दा छोरीको महत्व कति धेरै हुन्छ भन्ने ‘रिमै’मा देख्न सकिने उनले सुनाइन् । रिस्मा गुरुङ भाषाकै सिनेमाबाट मेनस्ट्रिममा आएकी कलाकार हुन् ।
खिल बहादुर गुरुङको निर्देशनमा निर्माण भएको सिनेमा ‘रिमै’ यही भदौ २० गते शुक्रबारदेखि रिलिज हुँदैछ ।
गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्मस् प्रालीको प्रस्तुती र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, अर्पण थापा, रिस्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरवल घले, डिवी गुरुङ, टेक गुरुङ र बालकलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ र प्रश्ना राना मगर लगायतको पनि अभिनय रहेको छ ।
कवि तथा निर्देशक उपेन्द्र सुब्बाको पटकथा लेखन रहेको सिनेमालाई शैलेन्द्र ध्वज कार्कीले खिचेका हुन् । वीरवल घले कार्यकारी निर्माता रहेको सिनेमामा टिका गुरुङ, जित यात्री गुरुङ र दुन बहादुर घले निर्माता तथा बिनु गुरुङ, रोशन भट्टराई र राजेश घिमिरे सह–निर्मातामा छन् ।
सिनेमामा दीपक शर्मा र थानेश्वर गौतमको संगीत, किरण चाम्लिङ राई मुख्य सहायक निर्देशक, विष्णु मैनाली प्रोडक्सन म्यानेजर र मित्र डि गुरुङको सम्पादन छ ।


प्रतिक्रिया