द सिनेमा टाइम्स, काठमाडौं । सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको सिनेमा ‘वरिष्ठ बलराम’को फर्स्टलुक पोस्टर र टिजर सार्वजनिक भएको छ । दुवै प्रचार सामग्रीमा सिनेमाका मुख्य दुई अभिनेता दयाहाङ राई र विजय बराललाई केन्द्रमा राखिएको छ ।
सिनेमाको सार्वजनिक टिजरमा उनीहरू आमनेसामने भएको देखिन्छ, जसले कथावस्तुको सम्भावित द्वन्द्वलाई संकेत गर्छ । गाडीमा हुइँकिँदै आएका दयाहाङलाई बाइकमा सवार विजयसहितको समूहले बाटो छेकेपछि उनीहरूबीच तनावपूर्ण स्थिति सिर्जना भएको टिजरमा देखाइएको छ । दयाहाङको गेटअप हेर्दा उनी सिनेमामा नेता वा व्यापारीको भूमिकामा हुनसक्ने अनुमान गर्न सकिन्छ ।
विजयसँग उनको टसल नै सिनेमाको केन्द्रीय द्वन्द्व रहेको संकेत टिजरले दिएको छ । भाइटीकाको दिन पारेर आगामी कात्तिक ६ गतेबाट प्रदर्शनमा आउन लागेको यो सिनेमामा दयाहाङ र विजयसहित समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, भोलाराज सापकोटा लगायतको अभिनय रहेको छ ।
वृषभ सिद्धि इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमामा निर्देशक पौडेल स्वयंको कथा तथा सम्पादन छ । यो उनी निर्देशित चौथो सिनेमा हो । महेश दवाडीको पटकथा लेखन रहेको सिनेमामा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता तथा प्रदीप जी धामी र पुस्कर बी घिमिरे कार्यकारी निर्माता हुन् ।
सामाजिक कथावस्तुमा आधारित रहेको सिनेमामा मानकृष्ण महर्जनको छायांकन, तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक, प्रशान्त शिवाकोटी र विशेष पाण्डेयको संगीत, सम्राट शाक्यको द्धन्द्व निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । यो सिनेमालाई काठमाडौं उपत्यकामा डिसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।



प्रतिक्रिया