द सिनेमा टाइम्स, काठमाडौं । गत भदौ ६ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘माग्ने राजा’ पनि भोली सिनेमा हल सञ्चालनमा आएसँगै पुनः प्रदर्शनमा आउने भएको छ । बक्सअफिसमा राम्रो व्यापार गरिरहेको सिनेमा गत सोमबार भदौ २३ गतेबाट चर्किएको जेनजी आन्दोलनका कारण सिनेमा हल बन्द भएपछि प्रदर्शन रोकिएको थियो ।
यसैबीच, यो सिनेमामा समावेश ‘नो नट अगेन’ (हाम्रो माटो हाम्रो देश) बोलको गीत समेत रिलिज गरिएको छ । यो गीतमा सिनेमामा प्रायजसो सवै कलाकारलाई स्थान दिइएको छ । सार्वजनिक गीतमा दिपक शर्माको संगीत र हर्क साउदको शब्द रचना तथा डेभिट शंकर, सविन सुवेदी र सम्राट न्यौपानेको स्वर सुन्न सकिन्छ ।
ऋषि लामिछानेको निर्देशनमा निर्माण भएको सिनेमाले मुलुकको सामाजिक, आर्थिक र राजनीतिक परिस्थितीलाई ब्यंग्य गरेको छ । बिना मिहेनत पैसा कमाउन नहुने सन्देश दिने सिनेमाको ट्रेलरले दर्शकमाझ कौतुहल्ता पैदा गर्न सफल देखिन्छ ।
आरम्भ प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता तथा निर्माता मुनाल घिमिरे हुन् । ‘इच्छा’ रिलिजको लामो समयपछि सिनेमा निर्माणमा फर्केका छन् । निर्माता घिमिरे हाल दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष समेत हुन् ।
नरेन्द्र मैनालीले खिचेको सिनेमामा अभिनेता आर्यन सिग्देलको पनि विशेष भूमिका रहेको छ । आरआर फिल्मस्ले वितरण गर्ने सिनेमामा सामीप्य राज तिमल्सेनाको कथा, पटकथा तथा संवाद र दीपक शर्मा बाबुल गिरीको संगीत रहेको छ ।


प्रतिक्रिया