द सिनेमा टाइम्स काठमाडौं । सिनेमा ‘बलिदान’को ओएसटी गीत सार्वजनिक गरिएको छ। लिरिकल शैलीमा रिलिज गरिएको ‘यो ज्यान बलिदान’ शीर्षकको गीतमा स्वर तथा संगीत सुजन चापागाईको रहेको छ भने शब्द हर्क साउदले लेखेका छन्।
गीतमा आमा र मातृभूमिप्रति पुत्रको भावनात्मक समर्पणलाई चित्रण गरिएको छ। जीवन आमा र देशकै काखमा जन्मेर बाँचिएको हो भन्ने सन्देश दिँदै, आवश्यक परे आफ्नो प्राण समेत आमा र मातृभूमिको नाममा अर्पण गर्न तत्पर छ भन्ने भाव यस गीतमार्फत प्रकट भएको छ । गीतमा नायकको आवाजबाट देश र आमाप्रतिको गहिरो प्रेम, आहुति र बलिदानको भावना उजागर हुन्छ।
गीतको सङ्गीत संयोजन कोविद बज्रले गरेका छन् भने विवेक झा, कृति नेपाली र कोविद बज्रले ब्याक-भोकल दिएका छन्। गीतको मिक्सिङ तथा मास्टरिङ पनि कोविद बज्रले गरेका हुन्।
गीत सार्वजनिक गर्दै निर्देशक सन्तोष सेनले कलाको माध्यमबाट देशलाई केही दिने सपना तीन वर्षअघि मनमा उम्लिएको स्मरण गरेका छन् । प्रेमकथाले मनोरञ्जन दिन सक्छ तर देशको घाउलाई देखाउन सक्दैन भन्ने महसुस भयो ।
आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् भने निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् । सिनेमामा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।
वर्षकै प्रतिक्षित सिनेमा ‘बलिदान’ दसैँको फूलपातीका दिनबाट वर्ल्डवाइड रिलिज हुँदैछ ।


प्रतिक्रिया