वर्षकै सर्वाधिक प्रतिक्षित सिनेमाको गीतमा देखिएको यो मेहनत र दिएको सन्देश

वर्षकै सर्वाधिक प्रतिक्षित सिनेमाको गीतमा देखिएको यो मेहनत र दिएको सन्देश


द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै सर्वाधिक प्रतिक्षित र समीर भट्टको पहिलो सिनेमाको बक्सअफिस रेकर्डलाई पछि पार्ने अपेक्षा गरिएको सिनेमा हो, ‘बलिदान’ ।

आफ्नो पुरानो रेकर्ड भत्काउँदै नयाँ रेकर्ड बनाउने बाटोमा रहेको अपेक्षा गरिएको सिनेमा ‘बलिदान’को गीत सार्वजनिक भएको छ ।

सार्वजनिक गीतले आमालाई शीरमा राखेको छ । आमाले सन्तानका लागि गर्ने त्याग र तपश्यालाई सबैभन्दा माथि राखेको छ ।

समाजका अनेक दुःख र ब्यबधानसँग जुधेर सन्ताको सुखका लागि संघर्ष गर्ने आमाको त्यागबारे गीतका शब्द र दृश्य छन् । गीतको पहिलो फेजले आमाको त्यागको कुरा गर्छ ।

यही गीतको दोस्रो फेजमा आमाप्रति सन्तानको उत्तरदायित्व र त्यसको निर्वाह छ । आफूलाई हुर्काउन आमाले गरेको संघर्षलाई सम्झिँदै छोरो समाजसँग जुधेको कथा गीतमा छ । समाजका तमाम व्यवधानलाई छोराले चिर्न खोज्ने प्रयास गीत र भिडियोको दोस्रो फेजमा छ ।

निर्देशकले यो गीतलाई सिनेमाको कथासँग इन्टरलिंक गर्ने प्रयास गरेका छन् । छोराले आमाको रक्षाका लागि गर्ने संघर्षलाई निर्देशकले देशका रक्षासँग कुशलतापूर्वक जोड्ने प्रयास गरेका छन् ।

छोराले आमाको अस्मिता र अस्तित्व रक्षाका लागि गर्ने संघर्षलाई सिनेमाको मातृत्भूमि रक्षाका लागि उत्रिने कथासँग बिम्बात्मक रूपमा जोड्ने सुन्दर प्रयास गरेका छन् ।

गीतको भिडियोमा सिनेमा दृश्य र तस्बिरहरू प्रस्तुत गरिएका छन् । सिनेमाका मुख्य पात्र, परिवेश, रणमैदान बनेको भुगोलका केही दृश्य र पात्रहरूको दृश्यहरूले गीतको भिडियो साँच्चे सुन्दर बनाएका छन् । मुख्य पात्रहरूलाई प्रस्तर लुकमा गरिएको प्रस्तुति निकै आकर्षक देखिएको छ, जुन प्रायः ठूला सिनेमा उद्योग हलिउड, बलिउडहरूमा प्रयोग गरेको देखिन्छ ।

यो दृश्य र तस्बिरले निर्माण टिमले सिनेमाको निर्माणमा गरेको मेहनत र खर्च देखिएको छ । ‘बलिदान’को प्राविधिक पक्ष निकै बलियो रहेको यसले संकेत गरेको छ । यसले यो सिनेमालाई थप व्यग्र प्रतिक्षित बनाएको छ ।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् । निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।

सिनेमामा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

वर्षकै प्रतिक्षित सिनेमा ‘बलिदान’ दसैँको फूलपातीका दिनबाट वर्ल्डवाइड रिलिज हुँदैछ ।