द सिनेमा टाइम्स, काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुत र अभिनेत्री परिक्षा लिम्बुको मुख्य भूमिका रहेको सिनेमा ‘सोल्टिनी’को टिजर सार्वजनिक भएको छ । आगामी कार्तिक ६ गते भाइटिकाको अवसरमा प्रदर्शनमा आउने सिनेमाको टिजरमा प्रकाश र परीक्षाबीचको प्रेम, समाजको कठोर यथार्थलाई देखाइएको छ ।
यसअघि सिनेमाका सार्वजनिक चार फरक-फरक पोस्टरले कथावस्तु प्रेम, संस्कृति र ग्रामीण परिवेशमा आधारित रहेको सन्देश दिएको थियो । बिहीबार सार्वजनिक टिजरले पनि त्यही पक्षलाई प्रस्ट्याउँदै ग्रामीण जीवनशैली र सामाजिक संघर्षलाई प्रस्तुत गरेको छ ।
यो सिनेमालाई अर्जुन सुवेदीले निर्देशन गरेका हुन् । प्रकाश र परीक्षासहित विल्सन विक्रम राई, सब्बु गुरुङ, रवीन्द्र झा, प्रकाश घिमिरे, प्रेम सुब्बा, कविता आले, सुन्दर धिताल, सुजन खतिवडा लगायतका कलाकारको अभिनय छ ।
यो सिनेमाको कार्यकारी निर्मातामा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रिभोलुसन एन्ड द टिम छ । इलाम बजार, बिब्ल्याँटे, कन्याम, बिर्तामोड, पथरी र भोजपुरका रमणीय स्थानमा छायांकन गरिएको ‘सोल्टिनी’मा समाजमा व्याप्त जातीय भेदभाव विरुद्धको आवाज समेटिएको निर्देशक सुवेदीको दाबी छ ।
सिनेमाको निर्मातामा रेजिना बिस्ट र संसार चौलागाई तथा सह-निर्मातामा रोशन चौलागाई, वसन्त कटुवाल र सुजन अधिकारी छन् । रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टको पोस्टर तथा पब्लिसिटी डिजाइन रहेको सिनेमाका गीतमा प्रशान्त सिवाकोटी र हर्कुलस बस्नेतको संगीत, सुशन प्रजापतिको छायांकन, कथा तथा पटकथा अर्जुन सुवेदी र कुमार भट्टराईको छ ।


प्रतिक्रिया