‘माइतीघर’ ट्रेलर : भावनात्मक कथा र शक्तिशाली प्रस्तुति

‘माइतीघर’ ट्रेलर : भावनात्मक कथा र शक्तिशाली प्रस्तुति

द सिनेमा टाइम्स
56
Shares

द सिनेमा टाइम्स, काठमाडौं । मिलन तामाङको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘माइतीघर’को ट्रेलर सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक सिनेमाको ३ मिनेट लामो ट्रेलरले प्रेम, परिवार र समाजसँग गाँसिएको कथालाई देखाएको छ ।

सिनेमाको ट्रेलरको सुरुवातमा धिरज मगर र उपासना सिंह ठकुरीको विवाह र त्यसबीच आउने विभिन्न उतार चढावलाई प्रस्तुत गरिएको छ । उनीहरूबीचको सम्बन्धको रमाइलो सुरुवातसँगै भावनात्मक मोडतर्फ प्रवेश गर्छ । यी दुईसँगै डेव्यु अभिनेत्री श्यामाश्री शेर्पा र केदार घिमिरे (माग्ने बुढा) ले कथामा हास्य, संस्कार र परिवारको सम्बन्धलाई जोड्छन् ।

समाजको व्यवहार र पारिवारिक जिम्मेवारीका कारण सम्बन्धमा चुनौतीको संकेत ट्रेलरले दिएको छ । सार्वजनिक ट्रेलरमा प्रकाश सपुतको दमदार उपस्थिति देखिन्छ । उनका संवाद र भावनात्मक दृश्यहरूले कथालाई गम्भीर मोडतर्फ लैजान्छ । पारिवारिक सम्बन्ध, मायाको गहिरो अर्थ र त्यागलाई सिनेमाले प्राथमिकता दिएको देखिन्छ ।

सार्वजनिक ट्रेलरमा सिनेमाटोग्राफी आकर्षक देखिन्छ भने व्याकग्राउन्ड स्कोरले भावनात्मक प्रभावलाई अझै गहिरो बनाएको छ । ‘माइतीघर’ ट्रेलरले दर्शकलाई हाँसो, आँसु र प्रेमको मिश्रणसहितको कथा हेर्ने अपेक्षा जगाएको छ ।

दशैंको फूलपातीको अवसर पारेर असोजको १३ गतेबाट प्रदर्शनमा आउने सिनेमामा धिरज मगर, उपासना सिंह ठकुरी, श्यामा श्री शेर्पा, केदार प्रसाद घिमिरे, प्रकाश सपुत, वुद्दि तामाङ, शिशिर वाङ्देल, युवराज लामा, रजनी गुरुङ लगायतका कलाकारको अभिनय छ ।

रोहित अधिकारी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा रविन शेरचन र धिरज तामाङ तथा कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल छन् । रामशरण पाठकको लेखन रहेको सिनेमामा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । सिनेमाका सह-सम्पादक अंकित तिवारी हुन् ।

सिनेमाले तामाङ संस्कृतिको कथालाई पनि बलियो रुपमा उठाएको छ । स्वर्गीय जयदेवको संगीत रहेको सिनेमामा कविराज गहतराजको र किरण थापाको कोरियोग्राफी, समिर मिया र सत्यम रानाको भीएफएक्स, साहिल खानको ट्रेलर, अष्ट महर्जनको एक्सन छ ।