द सिनेमा टाइम्स, काठमाडौं । आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जेरी अन टप’को पहिलो गीत ‘कस्तुरी’ सार्वजनिक गरिएको छ । बडादशैंको घटस्थापनाको अवसरमा पारेर सार्वजनिक गरिएको सिनेमाको गीतमा जयन जे वाइवाको शब्द तथा संगीत र आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर छ ।
अनन्या फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमाको सार्वजनिक गीतमा मुख्य कलाकार अनमोल केसी र आँचल शर्मा फिचर्ड छन् । मुस्ताङदेखि भारतको राजस्थानसम्मका विभिन्न रमणीय दृश्यहरू भिडियोमा कैद गरिएको छ । गीतको भिडियोमा अनमोल र आँचललाई रोमान्टिक लभ वर्डको रूपमा चित्रित गरिएको छ । उच्च मेकिङ र कलरफूल देखिने भिडियोमा कोरियोग्राफी किरण थापाको छ ।
सुयोग गुरुङको निर्देशनमा निर्माण भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसहित जसीता गुरुङ, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तले यो सिनेमामा विशेष भुमिका निभाएकी छन् ।
सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको सिनेमाको कथा हेमराज बिसीको हो । अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता तथा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । सिनेमामा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।
सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिना र छायांकन दुलिप रेग्मीको छ ।


प्रतिक्रिया