ऋषभ शेट्टीको निर्देशन तथा मुख्य अभिनयमा ‘कान्ताराः अ लिजेन्ड च्याप्टर १’ ट्रेलर सार्वजनिक

ऋषभ शेट्टीको निर्देशन तथा मुख्य अभिनयमा ‘कान्ताराः अ लिजेन्ड च्याप्टर १’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
91
Shares

द सिनेमा टाइम्स, काठमाडौं । दक्षिण भारतीय ब्लकबस्टर सिनेमा ‘कान्तारा’को प्रिक्वेल ‘कान्ताराः अ लिजेन्ड च्याप्टर १’को ट्रेलर सार्वजनिक गरिएको छ । होम्बले फिल्मसको ब्यानरमा निर्माण भएको बहुप्रतिक्षित सिनेमाको निर्देशन तथा मुख्य अभिनय ऋषभ शेट्टीले गरेका छन् ।

सिनेमाको करिब तीन मिनेट लामो ट्रेलरले दर्शकलाई प्राचीन मिथक, परम्परा र रहस्यमय शक्तिहरूको संसारमा डुबाउँछ । भिजुअल ग्रान्डर, अद्भुत सिनेमाटोग्राफी र गहिरो कथा शिल्पमार्फत यसमा मान्छे र देवत्वबीचको सम्बन्ध प्रस्तुत गरिएको छ ।

ट्रेलरको सुरुवात जंगल, पौराणिक युद्ध र संस्कृत श्लोकसहित हुन्छ । ऋषभ शेट्टीलाई यो पटक शक्तिशाली र रहस्यमय पात्रको रूपमा प्रस्तुत गरिएको छ । सिनेमाले देवता, विश्वास र मानवीय अस्तित्वबीचको संघर्षलाई महाकाव्य शैलीमा चित्रण गर्ने संकेत दिएको छ ।

रुक्मिणी वसन्थ, जयराम, गुलशन देवैयाह लगायतका कलाकारहरू पनि ट्रेलरमा देखिन्छन् । दमदार एक्सन, पारम्परिक नृत्य झलक, सांगीतिक भव्यता र रहस्यमय चरित्रहरूको प्रस्तुति दर्शकलाई हलसम्म तान्ने देखिन्छ । निर्माता विजय किराजगन्दूरले ‘कान्ताराः अ लिजेन्ड च्याप्टर १’ लाई प्यान-इन्डिया स्तरमा रिलिज गर्दैछन् । यो सिनेमाको हिन्दी, कन्नडसहित पाँच भाषामा ट्रेलर सार्वजनिक भइसकेको छ ।

‘कान्तारा’ले बक्स अफिसमा इतिहास रचेसँगै सांस्कृतिक पहिचान र धार्मिक प्रतीकलाई विश्वभर चर्चा दिलाएको थियो । यही सफलतालाई अगाडि बढाउँदै, यो प्रिक्वेलले दर्शकलाई अझ गहिरो कथा र उत्पत्तिको यात्रा देखाउने अपेक्षा गरिएको छ । सिनेमा आगामी २ अक्टोबर अर्थात् असोज १६ विजया दशमीका दिन भारतको गान्धी जयन्तीमा विश्वव्यापी प्रदर्शनमा आउने छ ।