त्रिकोणात्मक प्रेम कथा ‘मैझारो’को टिजर सार्वजनिक

त्रिकोणात्मक प्रेम कथा ‘मैझारो’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
77
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी कार्तिक ७ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘मैझारो’को टिजर रिलिज भएको छ । सोमबार बडादसैंको घटस्थापनाको अवसरमा सिनेमाको करिब दुई मिनेट लामो टिजर सार्वजनिक गरिएको हो ।

सार्वजनिक टिजरमा सिनेमाका मुख्य कलाकार धिरज मगर, मिरुना मगर र दिया पुनबीचको त्रिकोणात्मक प्रेम देख्न सकिन्छ । इलामको गाउँले परिवेशमा अभिनेता धिरज मगरलाई देख्न सकिन्छ । चिया बगानमा काम गर्ने युवतीको भूमिकामा मिरुना मगरलाई देख्न सकिन्छ । धिरज र मिरुनाको प्रेम टिजरमा देख्न सकिन्छ । तर कुनै बाध्यताले धिरज दिया पुनसँग नजिकिएका छन् ।

दर्शकले तक्मेबुढा (विल्सन विक्रम राई) भन्ने वितिक्कै कमेडी शैलीको सिनेमाको अपेक्षा गर्छन् । तर उनले कमेडी शैलीभन्दा विल्कुलै फरक मौलिक प्रेमकथामा सिनेमा निर्माण गरेका छन् । सार्वजनिक टिजरमा किराती मौलिक प्रेमकथामा भावनात्मक सम्बन्ध देखाइएको छ । यो सिनेमाले नेपाली माटोको कथा भन्ने अपेक्षा दर्शकको छ ।

त्रिकोणात्मक प्रेम कथामा आधारित सिनेमा ‘मैझारो’ निर्देशक राईकै कथामा निर्माण भएको हो । सिनेमामा धिरज, मिरुना र दियासहित बुद्धि तामाङ, सुनिल थापा, पुस्कर गुरुङ, अभयराज बराल, माओत्से गुरुङ, कविता आले, रजनी गुरुङ, प्रेम सुब्बा, उदय सुब्बा, अनिल सुब्बा, भूपेन्द्र लिङदेन र विशाल लिम्बुको अभिनय छ । यो सिनेमामा अभिनेता दयाहाङ राई पनि विशेष भूमिकामा देखिनेछन् ।

तक्मे प्रोडक्सनको ब्यानरमा निर्माण भएको सिनेमामा अनमोल गुरुङ र तोरेम्पाहाङ राईको संगीत, राजेशपायल राई, झुमा लिम्बू, मेलिना राई, अस्मिता अधिकारीको स्वर, सौरभ लामाको छायांकन छ ।