द सिनेमा टाइम्स, काठमाडौं । गत सोमाबार बडादशैंको घटस्थापनाको अवसर पारेर युट्युवका रिलिज गरिएको ‘जेरी अन टप’को गीत ‘कस्तुरी’ हिजो एक्कासी हटाइयो । गीत हटेपछि अभिनेता अनमोल केसीका फ्यानमाझ चर्चाको विषय बन्यो । जसले गर्दा टेक्निकल समस्याका कारण गीत हटाउनु परेको भन्दै उनले फ्यानसँग माफी मागेका थिए ।
यो सिनेमाका निर्माता सरोज न्यौपानेका अनुसार गीतमा प्राविधिक समस्या देखिएपछि युट्युबबाट हटाइएको थियो । केही दिन यता मुम्बईमा रहेका निर्माता न्यौपानेले भने, ‘म र निर्देशक सुयोग गुरुङ दुवै देशबाहिर हुँदा मिस कम्युनिकेशनका कारण अर्को फाइल अपलोड भएछ । यसैले गीतलाई हटाएका हौं । यसको नयाँ भर्सन रिलिज गर्छौं ।’
योसँगै आज सिनेमा ‘जेरी अन टप’मा समावेश गीत ‘कस्तुरी’ आज बिहान पुनः युट्युवमा अपलोड गरिएको छ । प्राविधिक समस्या समाधान गर्दै पुनः गीत युट्युवमा अपलोड गरिएको अभिनेता अनमोल केसी लगायतको टिमले जानकारी दिएका छन् ।
आगामी असोज ३१ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘जेरी अन टप’ सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको छ । अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता तथा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । सिनेमामा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।
योग गुरुङको निर्देशनमा निर्माण भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसहित जसीता गुरुङ, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तले यो सिनेमामा विशेष भुमिका निभाएकी छन् ।
सिनेमाको कथा हेमराज बिसीको हो । सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिना र छायांकन दुलिप रेग्मीको छ ।


प्रतिक्रिया