द सिनेमा टाइम्स, काठमाडौं । आगामी कार्तिक ६ गते तिहारको भाइटीकामा रिलिज हुने सिनेमा ‘बरिष्ठ बलराम’को पहिलो गीत ‘न्याउली वनैमा’ रिलिज भएको छ । सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्याल फिचर्ड गीतलाई लोक फ्लेवरमा तयार पारिएको छ । सार्वजनिक गीतमा विजय र समृद्धिको नोकझोकले दर्शकलाई उत्साहित बनाउने देखिन्छ ।
प्रशान्त सिवाकोटी शब्द रचना तथा संगीत निर्देशन रहेको गीतमा शान्तिश्री परियार र संगीतकार सिवाकोटीको स्वर छ । सार्वजनिक गीतको भिडियोलाई प्रदीप लामाले कोरियोग्राफी गरेका हुन् । जसले गीतमा सिनेमाका कलाकारद्धय विजय र समृद्धिलाई मज्जाले नचाएका छन् । उनीहरुको केमेष्ट्री पनि जमेको गीतको भिडियोमा हेर्न सकिन्छ ।
सुरेन्द्र पौडेलको निर्देशनमा निर्माण भएको सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायतको अभिनय छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्य रहेको सिनेमामा आशिष एच तामाङ र श्रीराज कार्कीको लगानी छ । सामाजिक कथावस्तुमा आधारित ‘वरिष्ठ बलराम’को छायांकन चितवनका विभिन्न स्थानमा गरिएको हो ।
मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमाका मुख्य सहायक निर्देशक तारानाथ न्यौपाने हुन् । प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्धन्द्व निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन रहेको सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र मोफसलमा कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।


प्रतिक्रिया