‘बलिदान’को शोजले गर्‍यो आक्रामक ओपनिङको संकेत, समीरको प्रतिस्पर्धा को सँग हो ?

‘बलिदान’को शोजले गर्‍यो आक्रामक ओपनिङको संकेत, समीरको प्रतिस्पर्धा को सँग हो ?


द सिनेमा टाइम्स, काठमाडौं । दशैँको फूलपातीमा रिलिज हुने सिनेमाहरूको अग्रिम बुकिङ खुला भएको छ । बुधबार ‘बलिदान’सहित ‘माइतीघर’ र ‘हरिबहादुरको जुत्ता’को अग्रिम बुकिङ खुलेको हो ।

‘बलिदान’ले अन्य दुईवटा सिनेमाको तुलनामा झण्डै दोब्बर शोज पाएको छ । प्राप्त शोज, सिनेमाको हाइप र स्टारकाष्टका कारण ‘बलिदान’को आक्रामक ओपनिङको संकेत देखिएको छ ।

सिनेमाको पोस्टर, प्रि-टिजर, टिजर र ट्रेलरले सिनेमाको लोभलाग्दो हाइप बनाएको थियो । हाइपकै कारण ‘बलिदान’ले अमेरिकामा ऐतिहासिक हल र शोज पाएको थियो ।

नेपालमा पनि हाइप अनुसारकै शोज संख्या हलहरूले निकालेका छन् । हलहरूले दर्शकको चासो र हाइप अनुसार शोज निकाल्ने गर्छन् ।

सिनेमा ‘बलिदान’को आक्रमक ओपनिङ हलहरूले दिएको शोजले निश्चित देखिसकेको छ । ‘बलिदान’को प्रतिस्पर्धा सँगै आएका सिनेमासँग देखिएन । यो सिनेमामा एक्सन स्टार समीर भट्ट छन् । समीरको क्रेजकै कारण यो सिनेमा दर्शकको रोजाइमा पर्ने निश्चित छ । त्यसैले यहाँ प्रश्न उठ्छ, समीरको प्रतिस्पर्धा को सँग छ त ?

निश्चय नै समीरको प्रतिस्पर्धा अरु कसैसँग नभएर उनी आफैँसँग छ । त्यसैले ‘बलिदान’को प्रतिस्पर्धा पनि सँगै आउने सिनेमासँग होइन उनको गत वर्षको आफ्नै सिनेमा ‘१२ गाउँ’सँग हुनेछ ।

‘१२ गाउँ’ गत वर्षको सुपरडुपर हिट सिनेमा हो । जसबाट समीर नेपाली सिनेमा उद्योगमा भित्रिएका थिए । ‘१२ गाउँ’ले नेपाली बक्सअफिसबाट मात्रै २० करोड रुपैयाँ कलेक्सन गरेको थियो । अब उनको दोस्रो सिनेमा ‘बलिदान’ले कति कलेक्सन गर्छ भन्ने प्रतिक्षाको विषय बनेको छ । तर कडा मेहनत, सिनेमाको विषयबस्तु, माथिल्लो तहको एक्सन, लगानी आदिका कारण ‘बलिदान’ले ऐतिहासिक कमाइ गर्नेमा निर्माण टिम ढुक्क छ ।

बुकिङ खुला भएसँगै टिकट बुकिङ पनि तीव्र गतिमा सुरु भइसकेको छ ।

‘बलिदान’मा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा, अर्पण थापा, कविता राय, हेमन्त बुढाथोकी, सन्तोष सेन, प्रेम पुरी, कामेश्वर चौरासिया, प्रज्वल दुलाल, जीवन बराल, रितेश जङ्ग पौडेल लगायतका कलाकारको अभिनय रहेको छ ।

वर्षकै प्रतिक्षित सिनेमा ‘बलिदान’ दशैंको फूलपातीका दिनबाट वर्ल्डवाइड रिलिज हुँदैछ ।

आसुसेन फिल्म्स प्रालिको ब्यानरमा बनेको ‘बलिदान’को लेखन दर्शन जीले गरेका हुन् । निर्माता पवन ब्राडफोर्ड विष्ट, कार्यकारी निर्माता प्रेम पुरी रहेका छन् ।