द सिनेमा टाइम्स, काठमाडौं । आगामी असोज १३ गते बडादसैंको फूलपातीदेखि प्रदर्शन तयारीमा रहेको सिनेमा ‘हरिबहादुरको जुत्ता’ निर्माण टिम अहिले प्रचार प्रसारमा ब्यस्त छ । बिहीबार आयोजित पत्रकार भेटघाटमा सिनेमाका निर्माता, निर्देशक र अभिनेताले सिनेमा किन हेर्न आवश्यक छ भन्ने कुराको चर्चा गरेका थिए ।
ट्रेलरबाट नै यो सिनेमाको कथावस्तु जेनजी आन्दोलन र उनीहरूका मागसँग मिल्दोजुल्दो रहेको झल्को प्रस्तुत गरिएको थियो । पत्रकार भेटघाटमा पनि अभिनेता हरिवंश आचार्यलाई यो प्रश्न सोधियो । उनले गतवर्ष नै सिनेमाको कथा तयार भएको बताए । ‘अहिलेको युवापुस्ताले जे माग राखेर आवाज उठाउनुभयो, त्यही नै हाम्रो सिनेमाको पनि कथा हो’ अभिनेता आचार्यले भने ।
उनले अगाडी भने, ‘हाम्रो सिनेमा केहि समय अगाडी नै तयार भएर, सेन्सर समेत पास भैसकेको छ । यो सिनेमालाई २ महिनापछि प्रदर्शन गरेको भए दर्शकले जेनजी पुस्ताले उठाएको विषयमा सिनेमा बनाएछन् भनिन्थ्यो होला, तर आगामी सोमबार असोज १३ गतेदेखि नै प्रदर्शन हुने भएकाले हामीले उठाएको विषय हरेकको मनमा रहेछ भन्ने प्रमाणित हुने छ ।’
अभिनेता आचार्यले सिनेमाको कथावस्तु र जेनजी पुस्ताको आवाज मिल्नु संयोग मात्र भएको बताए । कमेडी शैलीमा बनेको सिनेमाले दर्शकलाई भरपुर मनोरञ्जन दिने समेत उनले बताए । यो सिनेमाले केही गहन विषय उठाएको महसुस गरेको हरिवंशको बुझाई छ । जेनजी आन्दोलनमा एउटा जुत्ता आन्दोलनको प्रतीक बनेको थियो । ‘हरिबहादुरको जुत्ता’ पनि सांकेतिक रुपमा प्रतीक बनेको उनको भनाई थियो ।
यससँगै बिहीबार ललितपुरमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा अहिले देशको अवस्था ठिक नभएको अनि अन्य दुई सिनेमा सोही मितिमा अन्य दुई सिनेमा पनि छन् । किन सोही मितिमा आउन पर्यो ? भन्ने प्रश्नमा अभिनेता आचार्य भने, ‘म टिमको ठूलो उमेरको व्यक्ति हो । लेखक र कलाकार पनि हुँ । तर, मैले चाहेर प्रदर्शन मिति हेरफेर हुँदैन । टिमका अन्य व्यक्तिहरुको निर्णय बढी लागु हुन्छ ।’
दशैंमा सिनेमा प्रदर्शनमा नल्याउँदा गलत सन्देश फैलिने जोखिम भएकाले पूर्वनिर्धारित मितिमै ल्याइएको उनले बताए । ‘दशैँबाटपछि सर्यो भने भागेको भन्ने सन्देश जान्छ । त्यो सिनेमाको कलाकारलगायत कुनै पक्षका लागि पनि राम्रो कुरा होइन । दशैंमै सिनेमा प्रदर्शनमा ल्याउनुको मुख्ख कारण कथा हो । यो संयोग आफैमा गज्जबको बनेको छ । भ्रष्टाचारको विषयमात्र होइन नातावादको कुरालाई पनि सिनेमाले सशक्त ढंगले चित्रण गरेको उनले बताए ।
दीपेन्द्र के खनालद्वारा निर्देशित यो फिल्ममा हरिवंशसहित स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, दिव्यदेव पन्त, किरण केसी, राजाराम पौडेल, दिनेश काफ्ले, सीता न्यौपाने, कमलमणी नेपाल लगायतको अभिनय छ ।
एसएम मोसन पिक्चर्सको ब्यानरमा निर्माण भएको यो सिनेमालाई सरोज ओली र मोहितवंश आचार्यले निर्माण गरेका हुन् । कृष्णबहादुर थापाद्वारा छायांकन गरिएको सिनेमाको दृश्य सम्पादन नहकुल खड्काले गरेका हुन् । वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतको संगीत निर्देशन छ ।


प्रतिक्रिया