द सिनेमा टाइम्स, काठमाडौं । असोज १३ गते दशैंको फूलपातीबाट प्रदर्शनमा आउन लागेको सिनेमा ‘माइतीघर’को बुकिङ खुलिसकेको छ । यो सिनेमालाई लिएर दर्शकमा उत्साह पनि देखिएको छ । गीत तथा ट्रेलरले दर्शकको साथ पाएपछि सिनेमाको फूलपातीमा ओपनिङ पनि उत्साहजनक हुने अपेक्षा गर्न सकिन्छ ।
यो सिनेमाका मुख्य अभिनेता धिरज मगर हुन् । पहिलो पटक मल्टीस्टारर सिनेमामा काम गरेका धिरज उत्साहित छन् । यो सिनेमाको स्क्रिप्ट उनले दुई वर्ष अगाडि नै हात पारेका हुन् । स्क्रिप्ट पढ्ने वित्तिकै उनी सिनेमा खेल्न राजी भएका थिए ।
धिरज भन्छन्-‘यो सिनेमाले तामाङ संस्कृतिको सेरोफेरोमा रहेर जुन किसिमको कथा प्रस्तुत गरेको छ । त्यो मन परेर नै म यसमा जोडिएको हुँ । यसले, माइतीघर र चेलीको सम्बन्धलाई जुन शैलीमा देखाएको छ । त्यसले मलाई आकर्षित गरेको हो ।’
धिरजले अगाडि भने-‘मेरो पात्र पुरै नकारात्मक नभए पनि ग्रे सेडमा छ । यही पात्रको यात्रा नै मलाई मन परेको हो । ट्रेलरमा पनि भिन्न गेटअपमा मेरो पात्र देखिएको छ जस्तो लाग्छ । सिनेमामा कहिले प्रहरीको भेषमा त कहिले विदेशी लाहुरेको रुपमा मेरो पात्र प्रकट हुन्छ । यसले, दर्शकमा कौतुहलता र दुविधा दुवै सिर्जना गर्छ जस्तो मलाई लाग्छ ।’
सिनेमाले पूर्ण रुपमा मनोरञ्जन दिने क्लाइमेक्सले दर्शकको मनमा विशेष स्थान बनाउने दाबी धिरजको छ । सिनेमा हेर्दा दर्शक हाँस्दाहाँस्दै रुनेमा आफू ढुक्क रहेको उनले सुनाए । पारिवारिक सिनेमामा भएकाले पनि दशैंमा दर्शकका लागि विशेष हुने उनको भनाई छ ।
रोहित अधिकारीको निर्माणमा मिलन तामाङको निर्देशन रहेको यो सिनेमामा धिरजसहित केदार प्रसाद घिमिरे, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, युवराज लामा, वुद्दि तामाङ लगायतका कलाकारहरुको अभिनय छ ।
रोहित अधिकारी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको सिनेमाको निर्मातामा रविन शेरचन र धिरज तामाङ तथा कार्यकारी निर्मातामा ईश्वर श्रेष्ठ र निरज कटुवाल छन् । रामशरण पाठकको लेखन रहेको सिनेमामा सुशन प्रजापतिको डीओपी, सुरेन्द्र पौडेलको सम्पादन छ । सिनेमाका सह-सम्पादक अंकित तिवारी हुन् ।


प्रतिक्रिया