द सिनेमा टाइम्स, काठमाडौं । पर्सी सोमबार बडादशैंको फूलपातीदेखि प्रदर्शनमा आउने बहुप्रतीक्षित सिनेमा ‘बलिदान’को दोस्रो गीत ‘बाङ्गा बाङ्गा’ सार्वजनिक भएको छ । यो गीतमा सुजन चापागाईंले संगीत तथा सुजन र भुषण खतिवडाले स्वर तथा शब्द रचना हर्क साउदको छ ।
सिनेमाको सार्वजनिक गीतको भिडियोमा घना जंगलबीचको आदिवासी बस्ती देखाइएको छ । जहाँ आदिवासीहरूबीच अभिनेता समीर भट्टले नृत्य र अभिनय गरेका छन् । भिडियोमा कोरियोग्राफर समेत रहेका सुनिल क्षेत्री र सिनेमाका निर्देशक सन्तोष सेनलाई पनि देख्न सकिन्छ । सेनले सिनेमामा आदिवासीहरूको मुखियाको भूमिका निर्वाह गरेका छन् ।
यसअघि, सिनेमा ‘बलिदान’लाई केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड)ले पेरेन्टल गाइडेन्स (पिजी) प्रमाणपत्र प्रदान गरिसकेको छ । सन्तोष सेन निर्देशित यो सिनेमामा समीर भट्ट, सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी, प्रेम पुरी लगायतका कलाकारको अभिनय रहेको छ ।
निर्माण पक्षका अनुसार सिनेमाले हालसम्म करिब २५० शो सुनिश्चित गरिसकेको छ भने हल सञ्चालकको मागअनुसार यो संख्या ३०० सम्म पुग्ने सम्भावना छ । अग्रिम टिकट बिक्री सुरु भएसँगै दर्शकको उत्साह उच्च देखिएको छ ।
आसुसेन फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण भएको ‘बलिदान’का निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन् ।


प्रतिक्रिया