द सिनेमा टाइम्स, काठमाडौं । आगामी कार्तिक १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘परान’को गीत सार्वजनिक गरिएको छ । आइतबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको पहिलो गीत ‘ओइ भन्दानी बोलेन’ रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा रिदम कँडेलको कम्पोज र संगीत तथा दीपक प्रसाद आचार्य र अनिश अधिकारीको शब्द रचना अनि प्रमोद खरेल, यमन श्रेष्ठ, संगीतकार कँडेलको मेल भोकल र रचना रिमाल, सलिना बिकको फिमेल भोकल सुन्न सकिन्छ । गीतको अडियो तथा भिडियो उत्कृष्ट भनेको महसुस हुन्छ । यो गीतको भिडियोका कोरियोग्राफर सुनिल क्षेत्री हुन् ।
परिवारका घरमुली अर्थात् बुवाआमाको वर्षगाँठमा पुनः विवाहको सेटअपमा निर्माण गरिएको भिडियोमा सिनेमाका प्रायजसो सवै कलाकारहरुलाई प्रस्तुत गरिएको छ । यो गीत विशेषगरी दशैं र तिहार लक्षित गर्दै सार्वजनिक गरिएको निर्माण टिमले जानकारी दिएको छ । विशेषगरी तिहारमा देउसी भैली खेल्दा नेपाली गीतमा नाच्न इच्छुकका लागि यो गीत विशेष हुने बुझाई सिनेमाको निर्माण टिमको छ ।
बाइस्कोप सिनेमाको व्यानरमा निर्माण भएको सिनेमामा महेश र अञ्जनासहित नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारको अभिनय छ ।
निर्देशक दीपक प्रसाद आचार्य (काकु)कै कथा रहेको सिनेमाको पटकथा तथा संवाद यम थापाले तयार पारेका हुन् । निर्देशक आचार्यले फर्स्टलुक सार्वजनिक भएसँगै सिनेमाको प्रचार सुरू भएको बताए । उनले भने, ‘अहिलेसम्म सिनेमालाई कसरी हुन्छ राम्रो बनाउनमै ध्यान दियौं । पोस्ट प्रोडक्सनको काम लगभग अन्तिम चरणमा पुगेको छ । अब तीव्र रूपमा प्रचार प्रसारमा लाग्छौं ।’
रिदम कंडेलको संगीत रहेको सिनेमाका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमालले स्वर दिएका छन् । शिवराम श्रेष्ठको डिओपी रहेको सिनेमा मित्र डि गुरूङले सम्पादन गरेका हुन् ।


प्रतिक्रिया