द सिनेमा टाइम्स, काठमाडौं । सिनेमा‘वरिष्ठ बलराम’ आफूलाई समाजको वरिष्ठ व्यक्ति देखाउन चाहने दुई पात्रहरूको आवरण र शोचका कारण हुने संघर्ष भएको बताइएको छ ।
निर्माण टिमले बुधबार काठमाडौंमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सिनेमका मुख्य पात्रहरूले सिनेमाको चरित्रबारे प्रष्ट पारेका हुन् ।
अभिनेता दयाहाङ राईले ‘वरिष्ठ बलराम’ स्थापित र उदाउँदो व्यक्तिबीचको संघर्षको कथा भएको बताए ।
‘वरिष्ठ बलराम’मा आफ्नो इज्जत र प्रतिष्ठा बचाइराख्न खोज्ने स्थापित व्यक्ति र त्यसलाई टक्कर दिँदै आफू स्थापित हुन खोज्ने उदाउँदो व्यक्तिबीचको कथा रहेको उनले बताए ।
‘वरिष्ठ बलराम’मा स्थापित भइसकेको पात्र दयाहाङ हुन् । उनलाई टक्कर दिन उदाउँदै गरेको अर्का पात्र विजय बराल हुन् ।
मान्छेको भित्री रुप जे भए पनि आवरणमा भने प्रतिष्ठित र वरिष्ठ देखाउन रुचाउने चरित्र हरेक व्यक्तिमा हुने उनी बताउँछन् । “मान्छे जस्तो सुकै होस् आवरणमा भने समाजमा ऊ वरिष्ठ र प्रतिष्ठित हुन चाहन्छ, यो मानवीय स्वभाव हो,” दयाहाङ भन्छन्, “यो चलचित्रमा यही कुरा छ । मेरो चरित्र पनि त्यही हो ।”
आफ्नो चरित्र र चाहनामा टक्कर दिँदै अर्को पात्र आफू वरिष्ठ देखिने लोभमा आउने र त्यही क्रममा हुने संघर्ष चलचित्रमा रहेको उनी बताउँछन् ।
अभिनेता विजय बरालले चलचित्र ‘वरिष्ठ बलराम’ सामान्य व्यक्तिबाट वरिष्ठ हुन चाहना राख्ने सोचको कथा भएको बताउँछन् । व्यक्तिमा रहेको सोचबीचको टकराब सिनेमाको मुख्य विषय भएको उनले बताए ।
‘वरिष्ठ बलराम’का मुख्य दुई पात्र दयाहाङ र विजयको टकराबमा आफू बले पात्रका रूपमा रहेको उनले प्रष्ट पारे ।
“सिनेमाको टाइटल कसको नाममा रह्यो, कसको नाम बलराम हो भन्ने सिनेमा रिलिज भएपछि र त्यसअघि ट्रेलरमा केही कुरा थाहा होला,” विजय भन्छन्, “तर, चलचित्रमा मलाई बले भनेर भनिएको छ । त्यसैले वरिष्ठ बलराम को हो नभनौँ तर बले भनेर मलाई बोलाइएको छ ।”
उनले सिनियर कलाकार दयाहाङसँग सिनेमामै भए पनि घम्साघम्सी र टकराब लिन केही कठिन भएको अनुभव सुनाए ।
“अग्रज र मैले मान्ने भएकाले दाइ के गरौँ भन्थेँ । दाइले अफ्ठ्यारो नमान्, यसरी गर भनेपछि, म गर्थें,” विजय भन्छन्, “अग्रज र सधैँ सम्मान गर्ने कलाकार भएकाले केही अड चाहिँ हुनेरहेछ ।”
दयाहाङ भने सेटमा व्यक्ति भन्दा पनि चरित्र हुने भएकाले को सिनियर र को जुनियर भन्ने नहुने बताउँछन् । आफूले पनि ‘दासढुंगा’मा गुरु अनुप बरालसँग यस्तै रोलमा काम गरेको उनले स्मरण गरे ।
“उहाँले चरित्रमा गुरुचेला हुँदैन, भँडास पोख्ने मौका पनि यही हो भन्नुभयो,” दयाहाङ हाँस्दै भन्छन्, “भँडास पोख्ने भनेर चरित्रभन्दा माथि चाहिँ जानु भएन । चरित्र निभाउन हिचकिचाहट मान्नु हुँदैन ।”
नायिका समृद्धि अर्याललले आफू सिनेमामा शो पिस मात्रै नरहेको बताउँछिन् । दुई अग्रज र अब्बल कलाकारको बीचमा आफ्नो पनि राम्रो रोल रहेको उनको भनाइ छ ।
“म जहाँजहाँ आउँछु, त्यहाँ इम्प्याक्टफुल भूमिका छ भन्ने लाग्छ,” सम्वृद्धि भन्छिन्, “दुई लिड क्यारेक्टरलाई प्रभाव पार्ने खालको भूमिका छ ।”
‘वरिष्ठ बलराम’को क्यारेक्टर’ले आफ्नो सिने करियरमा सहयोग गर्ने उनको भनाइ छ । आफूले दयाहाङ र विजयबाछ धेरै सिक्ने मौका पाएको उनले बताइन् ।
कात्तिक ६ गते भाइटीकामा रिलिज हुने ‘वरिष्ठ बलराम’लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका छन् । ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ ।
निर्देशक पौडेलकै कथा र सम्पादन रहेको चलचित्रको पटकथा महेश दवाडीले लेखेका हुन् ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको चलचित्रमा आशिष एच तामाङ र श्रीराज कार्की निर्माता छन् ।
मनकृष्ण महर्जनको छायांकन रहेको चलचित्रमा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ ।
काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले सिनेमालाई वितरण गर्नेछ ।


प्रतिक्रिया