‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ गीतलाई ५ मिलियन भ्यूज

‘वरिष्ठ बलराम’को ‘न्यौली बनैमा’ गीतलाई ५ मिलियन भ्यूज

द सिनेमा टाइम्स
49
Shares

द सिनेमा टाइम्स, काठमाडौं । आगामी कात्तिक ६ गते भाइटीकाको अवसर पारेर रिलिज हुन लागेको सिनेमा ‘वरिष्ठ बलराम’ को सार्वजनिक गीत ‘न्यौली बनैमा’ले दर्शकहरूको मन जित्न सफल भएको छ।

‘वरिष्ठ बलराम’ को गीत ‘न्यौली बनैमा’ ले सामाजिक सञ्जाल र विशेषगरी टिकटकमा लोकप्रियता बटुलिरहेको छ । सार्वजनिक भएको दुई हप्तामै यस गीतले युट्युबमा ५२ लाख ९६ हजारभन्दा बढी भ्युज प्राप्त गरिसकेको छ, जसले यसको लोकप्रियता स्पष्ट पार्छ । प्रशान्त शिवाकोटीको शब्दरचना र संगीत रहेको यस गीतमा प्रशान्त र शान्तीश्री परियारको सुमधुर स्वर रहेको छ ।

सार्वजनिक गीतमा एकअर्कालाई मन पराउने युगल जोडीको भूमिकामा विजय बराल र समृद्धि अर्याल छन् । गीतमा शंकाका बीचमा सँगै जीवन बिताउने सहमति गर्छन् । विशेषगरी, विजयको अभिनय कौशल र नृत्यले दर्शकबाट  प्रशंसा पाएको छ, जसले सिनेमाको पब्लिसिटीमा ठूलो सहयोग पुर्‍याएको छ। धेरै दर्शकहरूले गीत र नृत्य दुवैको खुलेर प्रशंसा गर्दै सिनेमाको सफलताको कामना गरेका छन् ।

‘वरिष्ठ बलराम’ लाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् । वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मसको सहकार्य रहेको सिनेमा ‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, सम्वृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङल, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । निर्देशक पौडेलकै कथा र सम्पादन रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका छन् ।

आशिष एच तामाङ र श्रीराज कार्की निर्माता रहेको सिनेमाका कार्यकारी निर्माता प्रदीप जी धामी र पुस्कर बी घिमिरे हुन् । लाइन प्रोडुसरमा राम विष्ट छन् । मनकृष्ण महर्जनको छायांकन रहेको सिनेमामा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन, प्रदीप लामाको नृत्य निर्देशन छ । सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रिव्युसनले वितरण गर्नेछ ।