द सिनेमा टाइम्स, काठमाडौं । अनमोल केसी स्टारर सिनेमा ‘जेरी अन टप’ले आक्रामक ओपनिङ गरेको छ । निर्माणपक्षले सार्वजनिक गरेको बक्सअफिस तथयांक अनुसार सिनेमाको आक्रामक ओपनिङ देखिएको छ ।
दुई दिनमा यो सिनेमाले डेढ करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । दुई दिनमा ‘जेरी अन टपले’ १ करोड ५८ लाख ९७ हजार कलेक्सन गरेको छ ।
पहिलो दिन शुक्रबार ७२ लाख ५९ हजार र दोस्रो दिन ८६ लाख ३८ हजार कलेक्सन गरेको निर्माता सरोज न्यौपानेले बताएका छन् । अष्ट्रेलियामा दुई दिनमा ४६ लाख कलेक्सन गरेको उनले बताए ।
पहिलो दिनभन्दा दोस्रो दिन सिनेमाले धेरै कलेक्सन गर्नु राम्रो संकेत हो ।
राम्रो वर्डअफ माउथका कारण यो सिनेमाले दोस्रो दिन पहिलो दिनको भन्दा धेरै कलेक्सन गरेको हो । दोस्रो दिन शनिबार परेका कारण पनि धेरै कलेक्सन भएको हो ।
तेस्रो दिन दिउँसो साढे १२ बजेसम्म २८ लाख रुपैयाँ कलेक्सन गरेको उनले बताए । दोस्रो दिन पनि यो समयमा कलेक्सनको आँकडा यस्तै रहेको उनले बताएका छन् ।
वर्ड अफ माउथ राम्रो हुँदै गएकाले ‘जेरी अन टप’ले तिहारको बिदामा थप राम्रो कलेक्सन गर्नेमा निर्माण टिम आशावादी छ ।
हलमा अनमोल केसीको स्टारडम देखिएको छ । अनमोलका फ्यान तथा शुभचिन्तक ठूलो संख्यामा हलमा देखिएका छन् । राम्रो प्रतिक्रिया पाइरहेको सिनेमा शुक्रबार पहिलो दिन देखि नै राम्रो अकुपेन्सीमा चलिरहेको छ ।
पहिलो दिन देशभर २०५ भन्दा बढी शोज पाएको यो सिनेमाको शो थपिँदै गएको निर्माता न्यौपानेले बताएका छन् । ‘शोजहरू थपिँदैछन् । अधिकांश शोज हाउसफूल हुँदैछन्,’ उनले भने ।
यता, अनमोलसहितको कलाकारको टिम दर्शकको प्रतिक्रिया लिन हलहलमा पुगिरहेको छ । अनमोल डेढ वर्षपछि सिनेमा लिएर हलमा आउँदा उनले दर्शकको साथ पाएका छन् ।
सुयोग गुरुङको निर्देशनमा निर्माण भएको ‘जेरी अन टप’मा अनमोलसँगै आँचल शर्मा, जसीता गुरुङ, केदार घिमिरे (माग्नेबुढा), भुवन केसी, उषा खड्गीको अभिनय छ । अभिनेत्री सुरक्षा पन्तले यो सिनेमामा विशेष भूमिका निभाएकी छन् ।
अनन्या फिल्मस्को ब्यानरमा सरोज न्यौपानेको प्रस्तुतिमा रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीको लगानी रहेको सिनेमाको कथा हेमराज बिसीको हो ।
अनुराधा गिरी र इश्वर श्रेष्ठ कार्यकारी निर्माता तथा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । सिनेमामा कालिप्रसाद बास्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।
सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित सिनेमाको पटकथा तथा संवाद लेखन विस्वास तिम्सिना र छायांकन दुलिप रेग्मीको छ ।


प्रतिक्रिया