द सिनेमा टाइम्स, काठमाडौं । अनमोल स्टारर सिनेमा ‘जेरी अन टप’ले प्रदर्शनको नवौं दिनमा एकै दिन एक करोडभन्दा माथि ग्रसकसलेक्सन गरेको छ ।
‘जेरी अन टप’को नवौँ दिनमा हिजो शनिबार मात्रै बक्सअफिस रिपोर्ट १ करोड १ लाख ३२ हजार ८ सय १३ रुपैयाँ ३३ पैसा कलेक्सन गरेको जानकारी प्राप्त भएको छ । असोज ३१ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको ‘जेरी अन टप’ले सुरुको दिनदेखि नै आक्रामक व्यापार गर्दै आएको छ ।
आइतबार पनि धेरै शो हाउसफूल भएका छन् । सिनेमामा कलाकारहरूको अभिनय, हिमाली दृश्य, निर्देशन कला, छायांकन, व्याकग्राउन्ड स्कोर, सम्पादनलगायत पक्षले उत्कृष्ट तारिफ पाएको छ ।
सिनेमाको मुख्य कलाकार अनमोल केसी, आँचल शर्मा र जसीता गुरुङबीचको त्रिकोणात्मक प्रेमको केमेस्ट्रिलाई उत्कृष्ट भनेका छन् । साथमा लामो समयदेखि पर्दामा पुनरागमन गरेका अभिनेता भुवन केसी, चर्चित हाँस्य कलाकार केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्तको अभिनयले पनि दर्शकबाट प्रशंसा पाएको छ ।
सुयोग गुरुङको निर्देशनमा बनेको सिनेमालाई दिलिप रेग्मीले दृश्यांकन गरेका छन् । अनन्या फिल्मसको प्रस्तुतिमा बनेको सिनेमाले पहिलो साता मात्रै ५ करोडमाथिको कलेक्सन गरेको थियो ।
भुवन र अनमोलको यो पहिलो स्क्रिन सेयर हो । ‘क्याप्टेन’मा भुवन थिए तर गीतमा मात्रै । त्यसैले पूरै सिनेमामा भने भुवन र अनमोलले काम गरेको यो पहिलो सिनेमा हो । बाबुछोरोको स्क्रिनसेयरलाई दर्शकले रुचाएको पाइएको छ ।


प्रतिक्रिया