द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक ६ गते तिहारको भाइटीकाबाट प्रदर्शनमा आएको सिनेमा ‘बरिष्ठ बलराम’को नयाँ गीत ‘मायाले रुवायो’ सार्वजनिक भएको छ । बिहीबार सिनेमाको निर्माण टिमले नयाँ गीत सार्वजनिक गरेको हो ।
हलमा दर्शकले राम्रो साथ पाइरहेका बेला सिनेमाको स्याड भर्सनको गीत सार्वजनिक भएको हो । यो गीतमा अस्मिता अधिकारी, प्रशान्त शिवाकोटी र टीकाराम श्रेष्ठको स्वर तथा शब्द तथा संगीत प्रशान्त शिवाकोटीको छ ।
वियोगान्त गीतमा प्रेम जोडीबीचको वियोगको कथा छ । प्रेममा रहेको जोडी एकाकार हुन नसक्दा भएको वियोगको पीडालाई गीतमा समेटिएको छ । वियोगको छटपटी कसैले नबुझ्दाको पीडालाई मर्मस्पर्शी शब्दसहित गीतमा चित्रण गरिएको छ ।
सिनेमाको कथा भन्ने गीतले दर्शकको मन छुन्छ । भिडियोमा सिनेमाका मुख्य दुई कलाकार विजय बराल र समृद्धि अर्यालको अभिनय छ । यही सिनेमाको अर्को गीत ‘न्याउली बनैमा’ दर्शकले रुचाउँदा एक करोडभन्दा धेरै भ्युज पाइसकेको छ । यो सिनेमाले बक्सअफिसमा पाँच दिनमा दुई करोड रुपैयाँ ग्रसकलेक्सन गरेको दाबी निर्माण टिमको छ ।
वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्मस्को सहकार्यमा निर्माण भएको सिनेमामा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरुङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारको अभिनय छ । यो सिनेमालाई सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन् ।
कथा र सम्पादन निर्देशक पौडेलकै रहेको सिनेमाको पटकथा महेश दवाडीले लेखेका हुन् । निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी घिमिरे तथा लाइन प्रोड्युसर राम विष्ट छन् ।
मनकृष्ण महर्जनको छायांकन, प्रशान्त सिवाकोटीको संगीत, सम्राट बस्नेतको एक्सन निर्देशन र प्रदीप लामोको नृत्य निर्देशन रहेको सिनेमालाई उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युसनले वितरण गरेको हो ।


प्रतिक्रिया