द सिनेमा टाइम्स, काठमाडौं । भारतको डुवर्समा निर्माण भएको नेपाली सिनेमा ‘धागो’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरले सिनेमाको मूल भावलाई प्रस्ट्याएको हो । जसमा परिवारभित्रको भावनात्मक सम्बन्ध, आर्थिक कठिनाइले निम्त्याएका समस्या र सामाजिक दुरावस्थाको संघर्ष चित्रण गरिएको छ ।
ट्रेलरमा एक परिवारमा रहेको आर्थिक समस्याका कारण सिर्जित समस्या र त्यससँग जुध्न गरिएको संघर्ष देखाइएको छ । सामाजिक चुनौती र विषम परिस्थितिको चित्रणसहित सन्तानको सपना र इच्छा पूरा गर्नका लागि गरिने हरेक माता-पिताको प्रयासलाई भावनात्मक रूपमा प्रस्तुत गरिएको छ । गहन कथावस्तुसँगै दर्शकलाई लागि हास्यरस सिनेमामा पनि समावेश गरिएको छ ।
उदिप राणा थापा निर्देशित सिनेमा नेपाल-भारत सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली परिवारको जीवन, सांस्कृतिक सम्बन्ध र आपसी भावनात्मक धागोलाई कथाको केन्द्रमा राखेर बुनिएको छ । यसले एक परिवारभित्र सम्बन्धको धागो कमजोर भएपछि उत्पन्न हुने संवेदनशील परिस्थितिलाई प्रतिबिम्बित गर्ने निर्देशकले बताए ।
म्याग्नेट इन्टरटेन्मेन्ट प्रोडक्शन हाउसले निर्माण गरेको सिनेमामा अभिनेत्री सुरक्षा पन्तको प्रमुख भूमिका रहेको छ । उनीसहित प्रभात थापा, सुरभी थापा, बुद्धि तामाङ, सुनिल थापा लगायतका कलाकारको अभिनय रहेको सिनेमामा अभिनेत्री वर्षा राउत विशेष भूमिकामा देखिनेछिन् । उमा थापा, उत्तम थापा र उदिप थापा निर्माता रहेको सिनेमाको छायांकन बलिउडका अनिकेर एम घोघले गरेका हुन् ।
सिनेमा ‘धागो’ आगामी कार्तिक २८ गते (नोभेम्बर १४) मा नेपाल र भारतका हलहरूमा एकसाथ रिलिज हुने तयारीमा छ । नेपालमा यसलाई आरआर फिल्म्सले वितरण गर्नेछ ।


प्रतिक्रिया