नीर शाह र गौरी मल्लको रमाइलो नृत्यसहित ‘पीआर’को गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक

नीर शाह र गौरी मल्लको रमाइलो नृत्यसहित ‘पीआर’को गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘पीआर’मा समावेश गीत ‘टाटा बाइ बाइ’ सार्वजनिक गरिएको छ । आइतबार सार्वजनिक सिनेमाको गीतमा सिनेमाका मुख्य कलाकार नीर शाह र गौरी मल्लको रमाइलो नृत्यसहित दिक्पाल कार्की र विनिता कार्कीलाई बेहुला-बेहुलीको रूपमा प्रस्तुत छन् ।

सिनेमाको यो गीतलाई दर्शकले मन पराउनेमा निर्माण पक्ष ढुक्क देखिएको छ । भिम बीसीको संगीत, टेक बीसी र प्रीती घिमिरेको स्वर रहेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियाग्राफी हेर्न सकिन्छ । यो सिनेमा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित रहेको निर्देशक शोभित बस्नेतले बताए ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमामा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी मस्तानी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायलको अभिनय छ । नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी, दिक्पाल कार्की यो सिनेमामा विशेष भूमिकामा देखिनेछन् ।

यो सिनेमाको गीत रिलिजपछि निर्देशक बस्नेतले भने, ‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन् । यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ । विदेशमा रहेका छोराछोरीको अवस्था र नेपालमा रहेका बुबाआमाले उनीहरुप्रति गरेको अपेक्षा समेटिएको छ ।’

यो सिनेमाको प्रस्तुतकर्ता रञ्जित साह र सन्तोष तिवारी तथा निर्मातामा लक्ष्मण सापकोटा र प्रदीप दाहाल छन् । बन्दे प्रसादको सम्पादन रहेको सिनेमाको लेखक गणेश बुढाथोकी हुन् । सौरभ सायमी र सौरभ लामाको छयांकन रहेको सिनेमालाई नेपालमा आरआर फिल्मस्ले वितरण गर्नेछ ।