द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै सर्वाधिक प्रतिक्षित सिनेमा ‘जारी २’ कात्तिक २१ गते प्रदर्शनमा आउँदा यसका मुख्य पात्र दयाहाङ राईलाई फरक अवतारमा देखिनेछ । सिनेमाको ट्रेलरले यही संकेत गरेको छ ।
ट्रेलर अनुसार सुरुमा दयाहाङ प्रेमिल देखिनेछन् । श्रीमतीसँग उनी प्रेमिल सम्बन्धमा छन् । आपसी कुरा साट्छन् । काममा सघाउँछन् । च्याब्रुङ बजाउँदै नबोलाएको विवाहमा जान्छन् । विवाह सकिसके पनि च्याब्रुङ बजाउँछन् । मेलामा जान्छन् । राम्री युवतीहरूसँग नजिक देखिन्छन् । यो फेजमा उनी प्रेमिल देखिन्छन् ।
दोस्रो फेजमा श्रीमतीसँग उनको जसै ठाकठुक हुँदै झगडा सुरु हुन्छ । झगडाले ठूलै रुप लिँदा उनी श्रीमतीसँग तँतँ र मम गर्छन् । घर छोडे पनि केही फरक पर्दैन भन्छन् । अलच्छिना भन्छन् । दाइजोमा आएका भाँडाकुँडा फ्याकिदिन्छन् । यसमा उनको रौद्र रुप देखिन्छ । उनी रिसाहा हुन्छन् । तातो रिसमा मुखै फोरेर गाली गरिहाल्छन् । यो फेजमा उनको रिसाहा रुप देखिन्छ । जसले घरबार नै तोडिने हो कि भन्ने अवस्था आउँछ ।
त्यसपछि देखिन्छ उनको अन्तिम रुप । यो रुप उनको तेस्रो फेजमा देखिन्छ । यहाँसम्म आइपुग्दा श्रीमती माइत गएर बसेकी हुन्छे । यता, दयाहाङ घरमा एक्लै ।
उसमा पश्चाताप देखिन्छ । यही बेला मेला तथा बजार जाँदा राम्री लोगेकी युवतीसँग बिहे गर्ने हो त भन्ने प्रस्ताव आउँछ, अर्कातिर माइत गएकी श्रीमती आउँछे कि भन्ने आसमा बस्दाबस्दै लामै समय बिते पनि आउँदिन ।
यस्तो अवस्थामा दयाहाङलाई तनावमा देखिन्छ । यो तेस्रो फेजमा तातो रिस देखाउँदा वा कन्ट्रोल गर्न नसक्दा पश्चतापको भुंग्रोमा पिल्सिरहेको देखिन्छ ।
ट्रेलरले दयाहाङका तीन फेजको कथा सिनेमाले देखाउने संकेत गरेको छ ।
उपेन्द्र सुब्बाद्वारा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
सिनेमामा दया, मिरुना तथा विजयका अलावा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको अभिनय रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमा यो वर्ष सर्बाधिक व्यापार गर्ने सिनेमाको श्रेणीमा राखिएको छ ।
‘जारी’ फिल्म २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष फिल्मले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ ।


प्रतिक्रिया