द सिनेमा टाइम्स, काठमाडौं । कार्तिक २१ गते शुक्रबारबाट देशव्यापी प्रदर्शनमा आउने सिनेमा ‘जारी २ः सङ अफ च्याब्रुङ’को अग्रीम टिकट बुकिङ खुल्ला गरिएको छ । यो सिनेमाको हालसम्म देशभरका मल्टीप्लेक्सदेखि सिंगल स्क्रिनसम्मका हलले १५० शो दिएका छन् ।
अझै धेरै हलमा शो खुल्नै बाँकी रहेकाले शुक्रबारसम्म ३०० आसपासमा शो पाउने अपेक्षा निर्माण टिमको छ । यो सिनेमाको अग्रीम टिकट बुकिङ खुलेसँगै आक्रामक टिकट बुकिङ समेत सुरु भएको छ । विशेषगरी पूर्वी नेपालमा सिनेमा घरमा अग्रीम टिकट बुकिङ आक्रामक देखिएको छ ।
कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशकिय सिनेमा ‘जारी’को दोस्रो श्रृंखला भएकाले पनि यो सिनेमाको प्रतिक्षा दर्शकमा तीव्र छ । वर्ष २०८० मा रिलिज भएको यो सिनेमाको पहिलो भागले २ करोड १५ लाख ग्रसको ओपनिङ गरेको थियो । यो सिनेमाको लाइफटाइम कलेक्सन १७ करोड ४८ लाख थियो ।
बक्सअफिसमा ‘जारी २ : सङ अफ च्याब्रुङ’सँग दर्शकको अपेक्षा उच्च छ । त्यसैले निर्माण घोषणा भएदेखि नै यो सिनेमालाई प्रतिक्षित सिनेमाको सूचीमा राखिएको छ । सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।


प्रतिक्रिया