द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै प्रतिक्षित सिनेमा ‘जारी २’का निर्देशक उपेन्द्र सुब्बाले फरक कथामा सिनेमा बनाउने तयारी गरेपनि सबैको सल्लाहमा ‘जारी २’ नाम राखेको बताएका छन् ।
मंगलबार पत्रकार भेटघाटमा उनले नाम्साङ, हाङमा, मंगलसेनजस्ता पात्र लोकप्रिय भएका कारण यही पात्रलाई लिएर अर्को कथा भन्न मिल्छ भने किन ‘जारी २’ नै नाम नराख्ने भन्ने सल्लाहअनुुसार ‘जारी २’ नाम राखेको बताए ।
‘जारी २’ नाम राख्दा गाली खाइन्छ भन्ने जान्दाजान्दै चुनौती मोल्ने आँट गरेको उनले बताए ।
‘ब्याजको लोभले मात्रै चाहिँ बनाएको होइन भन्छु,’ उपेन्द्र भन्छन्, ‘तर, नाम्साङ, हाङमा, मंगलसेनजस्ता पात्र लोकप्रिय भएकाले केही सजिलो हुनेरहेछ । जारी २ आउँदैछ हैर भनेर सूचना हुनेरहेछ । दर्शक माझ पुग्न सजिलो हुने रहेछ, यो सुविधा चाहिँ भयो हामीलाई ।’
उनले अगाडि प्रष्ट पारे, ‘जारी’ सक्सेस नभएको भए चाहिँ यही नाममा चलचित्र बनाउने कि नबनाउने भनेर सोच्थेँ होलो । अर्कै नाममा बनाउँथे होला ।’
लिम्बु संस्कृति र परिवेशमा बनेको सिनेमा भए पनि भाषामा भने खासै धेरै काम नभएको तर लवज भने समात्ने प्रयास भएको दयाहाङ राई बताउँछन् । लिम्बु लवज समात्न भने प्रयास गरेको उनले बताए ।
आफूले लिम्बु लवज जस्ताको तस्तै समात्न नसक्ने भनेर ‘जारी’मै भनेको भन्दै उनले भने, ‘प्रयास गर्यो भने नसकिने होइन, सकिन्छ । तर, यसका लागि समय चाहिन्छ । हामीसँग त्यति समय हुँदैन ।’
गैरलिम्बुले सुन्दा लवज आएजस्तो लागे पनि लिम्बुले सुन्दा नमिल्ने दयाहाङ बताउँछन् । ट्रेलरमा आफूले बोलेजति वा लवजका लागि भने धेरै मेहनत गर्नु नपरेको उनले बताए ।
च्याब्रुङ बजाउन भने निकै मेहनत गरेको उनले सुनाए । ‘सुटिङ सकिँदा चाहिँ बल्ल मजाले बनाउन जाने जस्तो भएको थियो,’ दयाहाङले भने, ‘धेरै जसो ठाउँमा मैले नै बजाएको राखिएको छ ।’
अभिनेता विजय बरालले आफूले ‘जारी’मा गरेको क्यारेक्टर जस्तै पात्र समाजमा थुप्रै रहेको बताए । लिम्बु भए पनि लिम्बु जस्तो नदेखिने र त्यसकै आधारमा जिस्काउने र स्वीकार्न कठिन हुने अवस्थाका पात्र थुप्रै रहेको उनले बताए । आफूले यूके जाँदा पनि यस्ता पात्रसँग भनेको उनले सम्झिए ।
‘जारीमा मैले गरेको पात्रजस्ता वास्तविक पात्र हामीले छायांकन गरेको ठाउँमा मात्रै होइन यूकेमा पनि भेटेको थिएँ,’ विजय भन्छन्, ‘मलाई यूकेमा भीडमा पछाडिबाट कोट्याएर तपाईंले जारीमा गरेको पात्र जस्तै हुँ नि म पनि भन्नु भएको थियो ।’ यसले आफूले गरेको पात्र समाजसँग रिलेटेबल रहेको प्रमाणित गरेको उनले बताए ।
नायिका मिरुना मगरले ‘जारी’मा काम गर्दा आफूलाई लिम्बु कल्चरबारे धेरै कुरा थाहा नभएर आफैँ अलमलमा परेको स्मरण गरिन् । तर ‘जारी २’सम्म आइपुग्दा त्यो समस्या नरहेको उनले बताइन् ।
आफूले ‘जारी २’मा आम लिम्बु महिलाले भोगिरहेको विषय र उनीहरूका लागि माइती हरसमय खुला रहने गरेको अवस्थालाई चित्रण गरेको बताइन् । लिम्बु समुदायमा चेलीका लागि माइतीको ढोका हरसमय खुला रहने गरेको जानकारी दिइन् ।
अभिनेत्री ऋचा शर्माले आफूले ‘जारी २’मार्फत नयाँ ठाउँ, विषय र भुगोलबारे जान्ने मौका पाएको बताइन् । लिम्बु कल्चरबारे आफूले धेरै कुरा थाहा पाएको बताइन् । आफ्नो महत्वपूर्ण भूमिका रहेको उनले प्रष्ट पारिन् ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ । कात्तिक २१ बाट यो सिनेमा प्रदर्शनमा आउँदैछ ।


प्रतिक्रिया