द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता दयाहाङ राईले ‘जारी २’ले लिम्बु समुदायको मनोविज्ञानसँगै संस्कृतिको विषय उठान गरेको बताएका छन् । उनले पारिवारिक कथामार्फत लिम्बू समुदायको कल्चरले श्रीमान् र श्रमतीको सम्बन्धमा देखिने पक्षलाई सिनेमाले देखाउने उनको भनाइ छ ।
लिम्बु समुदायका पुरुष र महिलाको मनोविज्ञानमा कस्तो परिवर्तन हुँदै गएको छ भन्ने कुरा जारी एक र दुईको फरक रहेको उनले प्रष्ट पारे । पाँच/छ वर्ष अगाडिको आफ्नो पात्रले अहिले कसरी सोच्छ भन्ने कुरा सिनेमामा देख्न सकिने उनले बताए ।
लिम्बु संस्कृति र परिवेशमा बनेको सिनेमा भए पनि भाषामा भने खासै धेरै काम नभएको तर लवज भने समात्ने प्रयास भएको दयाहाङ बताउँछन् । लिम्बु लवज समात्न भने प्रयास गरेको उनले बताए ।
आफूले लिम्बु लवज जस्ताको तस्तै समात्न नसक्ने भनेर ‘जारी’मै भनेको भन्दै उनले भने, ‘प्रयास गर्यो भने नसकिने होइन, सकिन्छ । तर, यसका लागि समय चाहिन्छ । हामीसँग त्यति समय हुँदैन ।’
गैरलिम्बुले सुन्दा लवज आएजस्तो लागे पनि लिम्बुले सुन्दा नमिल्ने दयाहाङ बताउँछन् । ट्रेलरमा आफूले बोलेजति वा लवजका लागि भने धेरै मेहनत गर्नु नपरेको उनले बताए ।
च्याब्रुङ बजाउन भने निकै मेहनत गरेको उनले सुनाए । ‘सुटिङ सकिँदा चाहिँ बल्ल मजाले बनाउन जाने जस्तो भएको थियो,’ दयाहाङले भने, ‘धेरै जसो ठाउँमा मैले नै बजाएको राखिएको छ ।’
दयाहाङले लिम्बू समुदाय र उनीहरूको लवज पक्रिने प्रयास गरेको बताएका छन् । तर, त्यो काम पनि त्यति सहज नभएको उनले जानकारी दिए ।
गाउँमा छँदा ढोल बनाए पनि च्याब्रुङको धुनसँग आफू काठमाडौं आएपछि परिचित भएको उनको भनाइ छ ।
‘म त्यतिबेला चाहिँ च्याब्रुङ राम्रै बजाउन सक्ने भएँ जति बेला छायांकन सकिएको थियो,’ दयाहाङ भन्छन्, ‘बोक्नु, बजाउनु, त्यसको तालसँगै नाच्नुपर्ने भएकाले त्यो सजिलो थिएन । तर, हरेक दिन बजाउँदै जाँदा केही जानियो ।’
‘जारी २’ कात्तिक २१ गतेबाट प्रदर्शनमा आउँदै छ । यो सिनेमामा उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको छ ।
सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो फिल्म यो वर्ष व्यापार गर्ने फिल्मको श्रेणीमा राखिएको छ । सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुदगायतका कलाकारको पनि अभिनय रहेको छ ।


प्रतिक्रिया