द सिनेमा टाइम्स, काठमाडौं । वर्षकै प्रतिक्षित सिनेमा ‘जारी २’ले आक्रामक ओपनिङ गरेको छ । देशभर उपलब्ध शोज शुक्रबार र शनिबार हाउसफूल भएको छ । यो सिनेमाले ठूलो संख्यामा शोज पाएको छ ।
शुक्रबारबाट रिलिज भएको सिनेमालाई दर्शकले उत्कृष्ठ भनेका छन् । लिम्बू समुदायको संस्कृतिको जगमा बसेर प्रेम, परिवार र माओवादी द्वन्द्वको कथा भनेको सिनेमाको विषय र प्रस्तुतिको दर्शकले प्रशंसा गरिरहेका छन् ।
सिनेमाले शुक्रबार र शनिबार कति ग्रसकलेक्सन ग¥यो निर्माणपक्षले औपचारिक जानकारी दिएको छैन । तर कतिपय सञ्चार माध्यमहरूले शुक्रबार सवा करोडभन्दा माथि ग्रसकलेक्सन गरेको समाचार लेखेका छन् ।
शनिबार बिदा भएकाले शुक्रबारभन्दा दोस्रो दिन अवश्य बढी हुन्छ । ‘जारी’को ब्रान्ड भ्यालु, सिनेमाको हाइप, कलाकारको लाइनअप आदि कारणले यो सिनेमाले दुई दिनमा ठूलो मात्रामा कलेक्सन गरेको सहजै आँकलन गर्न सकिन्छ ।
दर्शकको प्रतिक्रिया बुझ्न दयाहाङ राई, मिरुना मगरलगायत कलाकार हलहलमा पुगिरहेका छन् ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशकिय ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष यो सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ ।


प्रतिक्रिया