द सिनेमा टाइम्स, काठमाडौं । हलमा दर्शकको अथाह माया पाइरहेको सिनेमा ‘जारी २’ले मध्य रातसम्म शोज पाउनु सबै नेपाली सिनेमाका लागि राम्रो भएको अभिनेता दयाहाङ राईले बताएका छन् ।
काठमाडौंमा बिहान साढे ६ बजेदेखि राति ११ बजेसम्म शो पाएको उनले बताएका छन् ।
‘काठमाडौं बाहिर राति १२ बजेसम्मको शो रहेको छ । राति १२ बजेको शोसम्म पनि दर्शक आउनु भएको छ । राति १२ बजेको सिनेमा हेर्न आउनु बनेको हाम्रो यो सिनेमा मात्रै होइन, सबै नेपाली सिनेमाका लागि राम्रो हो,’ दयाहाङले भने, ‘पछिल्लो समय नेपाली सिनेमा राम्रो चलिरहेको छन् । यसअघिका सिनेमा चल्नु पनि हाम्रो सिनेमाका लागि राम्रो हो । सबै सिनेमा चल्नु राम्रो हो ।’
‘जारी १’ भन्दा ‘जारी २’मा काम गर्दा आफूलाई आनन्द लागेको उनले बताए । ‘जारी १’को ठाउँ त यो सिनेमाले लिन सक्दैन । किन भने हरेक सिनेमा फरक हुन्छ,’ दयाहाङले भने, ‘यो ‘जारी २’को आफ्नै संसार छ । यो हेर्नै पर्ने सिनेमा बनेको छ ।’
शोचेभन्दा राम्रो रेस्पोन्स पाइरहेको दयाहाङको भनाइ छ । ‘ब्यापार भने अडियन्सको टेस्टमा भर पर्छ,’ उनले भने, ‘हाम्रो चाहना त सकेसम्म धेरै हो भन्ने नै हो ।’
अभिनेत्री मिरुना मगरले दर्शकको प्रतिक्रियाले सेटमा गरेको मेहनतको प्रतिफल पाएको अनुभूति भएको बताएकी छन् । हरेक सिनेमा आउँदा न्यानो माया पाइने र त्यसले काम गर्न इनर्जी प्रदान गर्ने उनको भनाइ छ ।
‘यो हाम्रा लागि सकारात्मक पक्ष हो । हाङमाका रुपमा आमा र श्रीमतीका रूपमा पाएको मायाले खुसी लाग्छ,’ उनले भनिन् ।
उपेन्द्र सुब्बा लिखित तथा निर्देशित सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् । सिनेमामा दयाहाङ राई, मिरुना मगर तथा विजय बरालको प्रमुख भूमिका रहेको छ ।
बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको यो सिनेमामा बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई र सिर्जना निङ्लेखुको पनि अभिनय छ ।
कवि उपेन्द्र सुब्बाको डेव्यु निर्देशकिय ‘जारी’ २०८० सालको ब्लकबस्टर सिनेमा हो । सो वर्ष यो सिनेमाले नेपाली बक्स अफिसमा १७ करोड माथिको व्यापार गरेको थियो । सिनेमाले आफ्नो पछिल्लो व्यापारिक इतिहासलाई कायम राख्ने बलियो अपेक्षा राखिएको छ । यसले पनि आक्रामक ओपनिङ सुरु गरिसकेको छ ।


प्रतिक्रिया