द सिनेमा टाइम्स, काठमाडौं । गत कार्तिक १४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘परान’ले बक्सअफिसमा पहिलो हप्ता औषत व्यापार गरेको थियो । दोस्रो हप्तामा बक्सअफिसमा आक्रामक देखिएको सिनेमा आज शुक्रबारबाट तेस्रो हप्तामा प्रवेश गरेको छ ।
तेस्रा हप्तामा यो सिनेमा वक्सअफिसमा अभूतपूर्व सरप्राइज बनेर आएको छ । तेस्रो हप्तामा प्रवेश गर्दा यो भावनात्मक पारिवारिक सिनेमाले दुई हप्तामा ७ करोड ५० लाखमाथिको ग्रस कलेक्सन गर्न सफल भएको दाबी निर्माण टिमको छ । आफ्नो प्रदर्शनको तेस्रो सातामा यो सिनेमाले प्राप्त गरेको शो संख्या हेर्दा दर्शकमाझ राम्रो हाइप बनाउन सफल देखिन्छ ।
यो सिनेमाले आज (शुक्रबार) मात्र देशभर २ सय १० शो प्राप्त गरेको छ । सिनेमा हेर्न आउने दर्शकको फुटफलका कारण हलहरूले यो संख्यामा शो उपलब्ध गराएका हुन् । भोलि शनिबार बिदाको दिन पनि सोही संख्याको शो जारी रहने अपेक्षा निर्माण टिमको छ । नेपाली–हिन्दी फ्रेस रिलिज ठूला सिनेमा नभएकाले ‘परान’ले वक्सअफिसमा यात्रा लम्बिएको चर्चा नेपाली सिनेमावृत्तमा छ ।
यो सिनेमाले प्रदर्शनको दिन कार्तिक १४ गते केवल ६४ शो मात्र पाएको थियो भने पहिलो दिन वक्सअफिसमा ६ लाख रुपैयाँको बिर्सनलायक ग्रस कलेक्सन गरेको थियो । सिनेमाले हाल दर्शक तथा समीक्षकबाट उत्साहजनक प्रतिक्रिया पाइरहेको छ । सिनेमाले देखाएको कथावस्तुले आम नेपाली परिवारको अवस्थालाई चित्रण गरेकाले दर्शकको रोजाइमा परेको हो ।
दीपक प्रसाद आचार्य (काकु)को डेब्यू निर्देशन रहेको सिनेमालाई गोल्छा समूहका शेखर गोल्छा तथा प्रिज्मा एडभर्टाइजिङका रञ्जित आचार्यको सहस्वामित्वमा रहेको कम्पनी बाइस्कोट सिनेमाले निर्माण गरेको हो । सिनेमामा नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, महेश त्रिपाठी, प्रविण खतिवडा, अञ्जना बराइली, बुद्धि तामाङको अभिनय छ ।
यता, गत शुक्रबार कार्तिक २१ बाट प्रदर्शनमा आएको टंक बुढाथोकी निर्देशित ‘मन बिनाको धन’ले पनि पहिलो हप्ताको बक्सअफिस कलेक्सन सार्वजनिक गरेको छ । भाइरल बाल गायकको रुपमा चर्चामा आएका अशोक दर्जीको मुख्य भूमिका रहेको आज शुक्रबारबाट दोस्रो हप्तामा प्रवेश गरेको सिनेमा ‘मन बिनाको धन’ले न्युन शोका बावजुद पनि पहिलो हप्ता १ करो ६७ लाख ग्रस कलेक्सन गरेका दाबी निर्माण कम्पनिको छ ।
यस्तै, कार्तिक २१ गते नै प्रदर्शनमा आएर बक्सअफिसमा आक्रामक व्यापार गरिरहेको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’को आधिकारी बक्सअफिस रिपोर्ट भने हालसम्म सार्वजनिक गरिएको छैन् । सोमबार चलचित्र विकास बोर्डद्धारा सार्वजनिक गरिने कलेक्सन नै आधिकारि हुने भएकाले सोही रिपोर्ट कुरीरहेको बाँसुरी फिल्मस्का तर्फबाट निर्माता मणीराम पोखरेल बताउँछन् ।


प्रतिक्रिया