‘जारी २’ले कति कमायो ?

‘जारी २’ले कति कमायो ?


द सिनेमा टाइम्स, काठमाडौं । उपेन्द्र सुब्बा निर्देशित ‘जारी २’ले पाँच करोडभन्दा माथि ग्रसकलेक्सन गरेको छ । कात्तिक २१ गते रिलिज भएको सिनेमाले शनिबार रातिसम्म बक्स अफिसमा मात्रै ४ करोड ९२ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ ।

यो सिंगल थिएटरभन्दा बाहिरको तथ्यांक हो । त्यसैले सिंगल थिएटरको कलेक्सन जोड्दा पाँच करोडभन्दा माथि कलेक्सन शनिबार नै कटिसकेको निर्माण टिमले जनाएको छ ।

बाँसुरी फिल्म्स र कबड्डी फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ, ऋचा शर्मा, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, मानहाङ लावती, विष्णु मोक्तान, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु, बेदना राई, सिर्जना निङ्लेखुको पनि अभिनय छ ।

चलचित्रको कथा पनि उपेन्द्र सुब्बाले नै लेखेका छन् । सिनेमालाई रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङले निर्माण गरेका हुन् ।

सिनेमा ‘परान’ले ९ करोड ८६ लाख ग्रसकलेक्सन गरेको छ । यो सिनेमालाई दीपक आचार्यले निर्देशन गरेका छन् ।

नीर शाह, पूजा चन्द, महेश त्रिपाठी, प्रवीण खतिवडा, केकी अधिकारी, अञ्जना बराइलीलगायत कलाकारको अभिनय छ ।

‘जेरी अन टप’ले १२ करोड ७ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । ‘जेरी अन टप’मा अनमोल केसी, भुवन केसी, केदार घिमिरे, आँचल शर्मा, जसिता गुरुङलगायत कलाकार मुख्य भूमिकामा छन् । सुयोग गुरुङले निर्देशन गरेका छन् ।

‘मन बिनाको धन’ले २ करोड ४३ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको छ । अशोक दर्जी मुख्य भूमिकामा छन् । यो सिनेमालाई टंक बुढाथोकीले निर्देशन गरेका छन् ।