‘हर्ष’लाई दर्शकले मन पराउनेमा ढुक्क एकता, भन्छिन्- यो हरेक परिवारको कथा हो

‘हर्ष’लाई दर्शकले मन पराउनेमा ढुक्क एकता, भन्छिन्- यो हरेक परिवारको कथा हो


द सिनेमा टाइम्स, काठमाडौं । पछिल्लो समयका सफल सिनेमा हेर्ने हो पारिवारिक चलचित्र अगाडि छन् । गत वर्षको ब्लकबस्टर ‘पूर्ण बहादुरको सारङ्गी’ होस् अथवा यही वर्षको ‘परान’ । यी पारिवारिक सिनेमा हुन् ।

परिवारको कथा भन्ने परिवारको दुःख सुखका कथा भन्ने सिनेमा हुन् । परिवारका कथा भनिएका सिनेमालाई दर्शकले रुचाइरहेका छन् ।

यस्तै परिवारको कथा लिएर अर्को सिनेमा आउँदैछ, ‘हर्ष ।’ । यो सिनेमाले पनि आम नेपालीको घरघरको कथा लिएर आउन लागेको यसको निर्माणपक्षले बताएको छ ।

पछिल्लो समय आम नेपालीले भोगिरहेको र देखिरहेको कथा लिएर ‘हर्ष’ आउन लोगेको निर्देशक एकता पौडेलले बताएकी छन् । धेरैले अहिले रुचाइरहेका विषयमा ‘हर्ष’ बनेकाले यसलाई पनि दर्शकले मन पराउनेमा उनी ढुक्क छिन् ।

‘यो अहिलेको नेपाली समाजको यथार्थ बोल्ने सिनेमा हो । हरेक घरका सदस्यले भोगिरहेको कथा छ,’ एकता भन्छिन्, ‘त्यसैले आफ्नै कथा भनेजस्तो दर्शकले सिनेमा हेर्दा फिल गर्नुहुनेछ ।’

निर्देशक मात्रै होइन यसकी मुख्य अभिनेत्री वर्षा राउत पनि सिनेमा दर्शकले मन पराउनेमा विश्वस्थ छिन् । पारिवारिक सिनेमा भएकाले दर्शकले मन पराउने उनले बताएकी छन् । परिवार बसेर परिवारको कथा ढुक्कले हेर्न सकिने उनको भनाइ छ ।

एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ मंसिर १२ गतेबाट रिलिज हुँदैछ । यो सिनेमामा वर्षा राउत र खगेन्द्र लामिछाने मुख्य भूमिकामा छन् ।

सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

निर्देशक एकता पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।