द सिनेमा टाइम्स, काठमाडौं । सुशान्त गौतमको डेव्यु निर्देशकिय सिनेमा ‘अभिमन्यु : च्याप्टर १’को नयाँ गीत ‘मरौ ज्यानले’ सार्वजनिक भएको छ । आगामी मंसिर १८ गते रिलिज हुने सिनेमाको बिहीबार सार्वजनिक गीतमा निर्देशक गौतमको स्वर तथा संगीत र सुरेश बादलको शब्द रचना छ ।
प्रेममा छटपटिएको प्रेमीले प्रेमिकाको सम्झनामा जीवन समाप्त गर्न पनि नसकेको र चयनले बाँच्न पनि नसकेको थिममा गीत तयार गरिएको छ । सँगै जिउने कसम खाएको प्रेम बीचमै टुट्दाको छटपटी गीतमा छ । प्रेमिकाको कोमल हृदयको तारिफ गर्दै सँगै बिताएका पल समेटिएको गीतले अव्यक्त प्रेममा रहँदाको प्रसंग पनि समेटेको छ ।
गीतको भिडियोमा सिनेमाका मुख्य दुई पात्र कामेश्वर चौरसिया र लक्ष्मी बर्देवा छन् । सिनेमाका फुटेज समावेश गरिएको भिडियोमा तराई-मधेश देख्न सकिन्छ । ‘अभिमन्यु : च्याप्टर १’मा कामेश्वर र लक्ष्मीसहित सरिता गिरी, किरण श्रेष्ठ, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन् ।
यो सिनेमाको क्रिएटिभ निर्देशक मदन थापा छन् । मुकेश खनालको लेखन रहेको सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । रमेश चौलागाईं र हरि श्रेष्ठ सह-निर्माता रहेको सिनेमाका कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । यो सिनेमाको लाइन प्रोड्युसरमा जीवन शाक्य रहेका छन् ।
शरद महतोको डिओपी रहेको सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादन छ ।


प्रतिक्रिया