द सिनेमा टाइम्स, काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘पीआर’को ‘तिमी छौ र त’ बोलको गीत सार्वजनिक भएको छ । निर्माण टिमले सिनेमाका मुख्य अभिनेता आरए सुरज पौडेलको जन्मदिनको अवसर पारेर यो गीत रिलिज गरेको हो ।
शनिबार अस्ट्रेलियाको ग्रान्ड प्यालेस फङ्सन सेन्टरमा आयोजित एक कार्यक्रमकाबीच गीतको भिडियो रिलिज गरिएको हो । यो गीतको भिडियोमा अभिनेता आरए सुरज पौडेल र अभिनेत्री बिनिता कार्कीको नृत्य हेर्न सकिन्छ । मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको स्वर रहेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ ।
सलोन सलिना फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा आरए सुरज पौडेल, विनिता कार्की, राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् । विशेष भूमिकामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्कीलाई देख्न सकिन्छ ।
सिनेमाको गीत रिलिज गर्दै निर्देशक बस्नेतले भने, ‘पीआरमा दर्शकले रोमान्स, एक्सन र सामाजिक सन्देशको मिश्रण पाउनेछन् । यो नेपालका युवाको सपना र संघर्षको कथा हो, जसले फरक स्वाद प्रदान गर्नेछ भन्नेमा विश्वास लिएको छु ।’ यो सिनेमा प्रेम, संघर्ष र आप्रवासनसँग जोडिएको भावनात्मक कथामा आधारित छ ।
रञ्जित साह र सन्तोष तिवारी प्रस्तुतकर्ता तथा लक्ष्मण सापकोटा र प्रदीप दाहाल निर्माता अनि गणेश बुढाथोकीको लेखन रहेको सिनेमामा सम्पादन बन्दे प्रसाद र छायांकन सौरभ सायमी र सौरभ लामाको छ । आरआर फिल्मस्ले वितरण गर्ने यो सिनेमाको अष्ट्रेलियाका विभिन्न शहरमा विशेष शो गरिएको थियो ।


प्रतिक्रिया