रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’को टिजर सार्वजनिक

रामजी ज्ञवाली निर्देशित डकुड्रामा ‘मौन’को टिजर सार्वजनिक

द सिनेमा टाइम्स
35
Shares

द सिनेमा टाइम्स, काठमाडौं । डकुड्रामा ‘मौन’को टिजर सार्वजनिक गरिएको छ । एक आमाले आफ्नी छोरीसँग आँखाभरि आँसु लिएर भावनात्मक गल्ती स्वीकार गर्दै सुनाएको कथा मुख्य केन्द्रबिन्दु बनेको छ । यो टिजरले अटिजम सम्बन्धी गम्भीर पक्षलाई संवेदनशील तरिकाले प्रस्तुत गर्दै दर्शकको चासो बढाएको छ ।

निर्माता तथा निर्देशक रामजी ज्ञवालीका अनुसार टिजर सार्वजनिकसँगै ‘मौन’लाई देश–विदेशका सिनेमा महोत्सव, च्यारिटी शो र विशेष स्क्रिनिङमा प्रस्तुत गर्ने तयारी भइरहेको छ । यसअघि सिनेमाको दुईवटा पोस्टर सार्वजनिक गरिएको थियो । जसले नै दर्शकको ध्यान तानेको थियो ।

यो डकुड्रामामा सरोज खनाल, हिउँवाला गौतम, प्रार्थना पाठक, ओजस्वी विक्रम विष्ट, दिवस नाथ लगायतका कलाकारको अभिनय देख्न सकिनेछ । ‘मौन’ले अटिजम जस्तो संवेदनशील र प्रायः बेवास्ता गरिने विषयमा गहिरो कथा बोकेको स्पष्ट हुन्छ ।

निर्माता तथा निर्देशक ज्ञवालीले ‘मौन’लाई कुनै व्यावसायिक लाभका लागि नभई समाजमा चेतना र सहानुभूति बढाउन निर्माण गरिएको सामाजिक दायित्वको परियोजना भएको बताए । डकुड्रामाको कथा रामशरण पाठकले लेखेका हुन् । निर्देशक ज्ञवाली अनुसार डकुड्रामाका स्क्रिनिङ केवल मनोरञ्जनका लागि नभइ नेपालका स्कुल, कलेज, संस्था तथा समुदायलाई अटिजमबारे सचेत गराउने अभियानको हिस्सा हुनेछ ।

यो डकुड्रामाको छायांकन संकल्प भुजेलले गरेका हुन् । यसका सहायक निर्माता हरी क्षेत्री भूपेन्द्र हुन् । यसको ध्वनि डिजाइनिङमा भरत कँडेल, कलर ग्रेडिङमा राजेन्द्र मोक्तान, सम्पादन नहकुल खड्काले गरेका हुन् ।