द सिनेमा टाइम्स, काठमाडौं । चलचित्र विकास बोर्डले नेपाली बक्सअफिसमा प्रदर्शनरत सिनेमाको कलेक्सन रिपोर्ट सार्वजनिक गरेको छ । जसअनुसार गत शनिबार राती ११ः५९ सम्म यसवर्षको सवैभन्दा धेरै कमाउने सिनेमा ‘परान’ बनेको छ । यो सिनेमाले हालसम्म नेपाली बक्सअफिसमा १४ करोड १६ लाख ५१ हजार बढि ग्रसकलेक्सन गर्न सफल भएको हो ।
यो सर्वाधिक कमाउने सिनेमाको दोस्रो नम्बरमा अनमोल केसी अभिनित ‘जेरी अन टप’ छ । यो सिनेमा हाल छैंटो हप्तामा प्रदर्शनरत छ । हालसम्म यो सिनेमाले नेपाली बक्सअफिसमा १२ करोड १९ लाख ७४ हजार बढि ग्रसकलेक्सन गरेको हो । यो अभिनेता अनमोल केसीको करियरकै सार्वधिक कमाई गर्ने सिनेमा समेत हो ।
गत कार्तिक २१ गतेबाट प्रदर्शनमा आएको बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा ‘जारी २ : सङ अफ च्याब्रुङ’ले पनि नेपाली बक्सअफिसमा राम्रो व्यापार गरेको छ । पहिलो हप्ता आक्रामक व्यापार गरेको सिनेमाले दोस्रो हप्ता पनि राम्रो व्यापार गरेको थियो । हाल तेस्रो हप्तामा प्रदर्शनरत सिनेमा ‘जारी २’ले बक्सअफिसमा ५ करोड ८९ लाख तीन हजार बढि ग्रसकलेक्सन गरेको छ । उपेन्द्र सुब्बा निर्देशित सिनेमामा दयाहाङ राई, मिरुना मगर र बिजय बराल लगायतका कलाकारको अभिनय थियो ।
गायक तथा संगीतकार टंक बुढाथोकीको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘मन बिनाको धन’ले दोस्रो हप्तासम्म ३ करोड ४९ लाख ६३ हजार बढि ग्रसकलेक्सन गरेको छ । बाल गायकको रुपमा चर्चामा आएका अशोक दर्जीको मुख्य भूमिका रहेको सिनेमालाई दर्शकले रुचाएका हुन् । यो सिनेमा हाल तेस्रो हप्तामा दर्शकको राम्रो साथ सहित प्रदर्शनरत छ ।



प्रतिक्रिया