‘हर्ष’को कथा बहसको विषय हो : निर्देशक एकता पौडेल

‘हर्ष’को कथा बहसको विषय हो : निर्देशक एकता पौडेल

द सिनेमा टाइम्स
63
Shares

द सिनेमा टाइम्स, काठमाडौं । निर्देशक एकता पौडेल मंसिर १२ गते रिलिज हुने सिनेमा ‘हर्ष’बाट नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यू गर्दैछिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेका कारण र दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले पनि उनको डेब्यूलाई सिनेमा क्षेत्रले विशेष चासोका साथ हेरिरहेको छ । पौडेलले यी दुबै अपेक्षाहरूमा आफूलाई सक्षम सावित गर्नुपर्ने बताउँछिन् ।

आफूसँग रहेका आधा दर्जनभन्दा धेरै स्क्रिप्टमध्ये उनले ‘हर्ष’लाई डेब्यू सिनेमाका रूपमा छनोट गरेकी हुन् । ट्रेलरले ‘हर्ष’ पारिवारिक विषयवस्तुमा बनेको स्पष्ट गरिसकेको छ।

दर्शकले किन ‘हर्ष’ हेर्नुपर्छ भन्ने प्रश्नमा उनी भन्छिन्, ‘नेपाली सिनेमाले अहिले राम्रो व्यापार गरिरहेको अवस्था छ। अन्तरवार्ताका लागि आउँदै गर्दा म जमल हुँदै आइरहेकी थिएँ । विश्वज्योति अगाडि नेपाली सिनेमाका तीनवटा पोस्टर देखेपछि खुसी लाग्यो । यसले मेरो सिनेमाप्रति सकारात्मक अनुभूति थपिदियो । मेरा सिनेमा पारिवारिक हो, मन छुने कथा भन्न प्रयास गरेकी छु। शिव मामाले जति शतप्रतिशत दिन नसके पनि एउटा संवेदनशील विषय प्रस्तुत गर्ने कोसिस गरेकी छु।’

न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गर्दा उनले विभिन्न देशका विद्यार्थीको सिनेमाप्रतिको दृष्टिकोण नजिकबाट अवलोकन गर्ने अवसर पाइन् । आधारभूत रुपमा धेरै फरक नभए पनि भावना अभिव्यक्तिको शैली समाज र परिस्थितिले फरक बनाउने अनुभव उनको छ । यही कारण ‘हर्ष’मा उनले नेपाली समाज, परिवारको मनोविज्ञान र परिस्थितिलाई मुख्य केन्द्रमा राखेकी छन्।

नेपाली समाजमा वंश निरन्तरता महत्वपूर्ण मानिन्छ । यही क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दवाबलाई ‘हर्ष’ले उठान गरेको पौडेल बताउँछिन् ।

‘छ-सातवटा स्क्रिप्टमध्येबाट मैले यो छनोट गरेँ । यसले उठाएको विषयमा सार्वजनिक बहस हुनु आवश्यक छ । यदि दर्शकले यसलाई राम्रोसँग बुझे भने यो विषय अझ व्यापक रूपमा अघि बढ्नेछ । सिनेमाले जटिल सिद्धान्तजस्तो होइन, सरल तर प्रभावकारी शैलीमा मनोरञ्जनसहित कुरा भन्छ’, उनी थप्छिन्।

महिला निर्देशक र महिला-केन्द्रित कथावस्तुको कारण सिनेमाले महिलाको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ। यसबारे पौडेल भन्छिन्, ‘मैले प्रभावकारी ढङ्गले प्रस्तुत गर्ने प्रयास गरेकी छु।’

सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।