खगेन्द्रले भने- ‘हर्ष’को स्क्रिप्टमा निर्देशक क्लिएर भएको देखेर आवद्ध भएको हुँ

खगेन्द्रले भने- ‘हर्ष’को स्क्रिप्टमा निर्देशक क्लिएर भएको देखेर आवद्ध भएको हुँ


द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता खगेन्द्र लामिछानले आफ्नो स्टोरीमा निर्देशक एकता पौडेल क्लिएर भएकाले आफू ‘हर्ष’सँग जोडिएको बताएका छन् । आफूलाई एकताले सिनेमाको कथा न्यारेट गर्दा कथालाई लिएर उनमा देखिएको क्लियर पिक्चरका कारण आफू ‘हर्ष’मा काम गर्न तयार भएको उनले बताएका छन् ।

‘म प्रायः सिनेमाको स्क्रिप्ट मागेर पढ्छु । तर, यसमा सुरुमा एकताजीले स्क्रिप्ट न्यारेट गर्नु भएको थियो,’ खगेन्द्रले भनेका छन्, ‘यति क्लिएर निर्देशकहरू कमै मात्रै हुन्छन् ।’ निर्देशकमा सिनेमाको पिक्चर स्क्रिप्टमा क्लियर भएकाले नै आफूले सिनेमा साइन गरेको उनले प्रष्ट पारेका छन् ।

उनले आफू नाच्न नजान्ने भए पनि ‘हर्ष’को गीतमा नाचेको बताए । सिनेमा डिरेक्टरको भएकाले आबद्ध भएपछि निर्देशकले भनेको मान्नुपर्ने उनको भनाइ छ ।

‘सकेसम्म मलाई नाच्न नलगाउँदा राम्रो भनेको थिएँ । तर, सिनेमा डिरेक्टरको हुन्छ । एक्टरका रुपमा पैसा लिएर आबद्ध भइसकेपछि सेटमा गएपछि डिरेक्टर एक्टर भएर काम गर्नैपर्छ,’ खगेन्द्रले भने, ‘डिरेक्टरको आफ्नै प्रस्पेक्टिभ हुन्छ, यसरी काम गर्दा मेरो सिनेमा राम्रो हुन्छ भन्ने उसले सोचेको हुन्छ ।’

कसैको सिनेमामा काम गर्दा चित्त बुझ्दैन भने सुरुमा तिम्रो सिनेमा म खेल्दिन भन्न सक्नुपर्ने होइन भने सेटमा गइसकेपछि यो यस्तो, यसरी गर्दा राम्रो हुन्छ, यो त उल्टो भइरहेको छ के गरेको भनेर एक्टरले डिरेक्टरलाई भन्न नमिल्ने उनको तर्क छ ।

तर, स्टोरीमा बस्दा पनि आफ्नो मनमा लागेको कुरा राख्नसक्ने र त्यो चरणमा भने एक्टर र डिरेक्टरबीच यस्तो स्वस्थ संवाद हुनुपर्ने खगेन्द्रको धारणा छ ।

एकता पौडेलको डेव्यु निर्देशनमा निर्माण भएको सिनेमा ‘हर्ष’ मंसिर १२ गतेबाट रिलिज हुँदैछ । यो सिनेमामा खगेन्द्र लामिछाने र वर्षा राउत मुख्य भूमिकामा छन् ।

सिनेमामा खगेन्द्र र वर्षासहित निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

निर्देशक एकता पौडेल स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन् । न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।