को हुन् ‘हर्ष’ कि निर्देशक एकता पौडेल ?

को हुन् ‘हर्ष’ कि निर्देशक एकता पौडेल ?


द सिनेमा टाइम्स, काठमाडौं । मंसिर १२ गतेबाट सिनेमा ‘हर्ष’ रिलिज हुँदा नेपाली सिनेमा उद्योगमा एक नयाँ महिला निर्देशक थपिने छिन् । सीमित महिला निर्देशक रहेको अवस्थामा नेपाली सिनेमा उद्योगले एक नयाँ महिला डिरेक्टर पाउनेछ ।

‘हर्ष’ निर्देशक एकता पौडेलको परिवारमा नै सिनेमाको माहोल थियो । पारिवारिक बिरासत नै सिनेमाको थियो । किनकी उनी निर्देशक शिव रेग्मीकी भान्जी हुन् ।

शिव रेग्मी नेपाली सिनेमा उद्योगका भेट्रान निर्देशक हुन् । उनको बलियो बिरासत थाम्न एकताले निर्देशनमा डेब्यु गरेकी हुन् । त्यसो त एकता पारिवारिक माहोल नै सिनेमाको थियो भनेर लहड र रहरले निर्देशनमा होमिएकी होइनन् । उनी पर्याप्त ज्ञानसहित सिनेमा उद्योगमा भित्रिएकी हुन् ।

एकता न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा निर्देशन अध्ययन गरेर आएकी हुन् । उनले न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी छन् । निर्देशक पौडेलले यसअघि केही छोटा सिनेमा समेत निर्माण गरेकी छन् ।

न्यूयोर्कमा पढ्दा उनले विभिन्न देशका विद्यार्थीको सिनेमाप्रतिको दृष्टिकोण नजिकबाट अवलोकन गर्ने अवसर पाइन् । उनीसँग एकेडेमिक अथवा सैद्धान्तिक नलेज पनि भएकाले उनले कस्तो सिनेमा बनाएकी छन् भन्ने धेरैलाई कौतुहलता छ ।

आधारभूत रुपमा धेरै फरक नभए पनि भावना अभिव्यक्तिको शैली समाज र परिस्थितिले फरक बनाउने अनुभव उनको छ । यही कारण ‘हर्ष’मा उनले नेपाली समाज, परिवारको मनोविज्ञान र परिस्थितिलाई मुख्य केन्द्रमा राखेकी छन् ।

नेपाली समाजमा वंश निरन्तरता महत्वपूर्ण मानिन्छ । यही क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दबाबलाई ‘हर्ष’ले उठान गरेको पौडेलले बताएकी छन् ।

‘हर्ष’मा खगेन्द्र लामिछाने, वर्षा राउत, निर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित र बालकलाकार साइमन वादीको अभिनय छ ।

आलोक शुक्लाको छयांकन, समीर र हिमाल, वसन्त सापकोटा तथा एलिश कार्काको संगीत, लोकेश बज्राचार्यको सम्पादन तथा सुनिल क्षेत्री र निर्देशक पौडेलको कोरियोग्राफी सिनेमामा छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको सिनेमाको कथा स्वयं निर्देशक पौडेलको हो । प्रशन्न पौडेल र विकास पौडेल निर्माता तथा हिक्मत चोखाल कार्यकारी निर्माता रहेको सिनेमाका प्रोडक्सन म्यानेजर इश्वर घिमिरे, मुख्य सहायक निर्देशक कुलदीप शर्मा हुन् ।