‘केजीएफ’का भ्वाइस आर्टिष्टको स्वरांकनसहित ‘अभिमन्यु’को हिन्दी भर्सनको टिजर सार्वजनिक

‘केजीएफ’का भ्वाइस आर्टिष्टको स्वरांकनसहित ‘अभिमन्यु’को हिन्दी भर्सनको टिजर सार्वजनिक

द सिनेमा टाइम्स
28
Shares

द सिनेमा टाइम्स, काठमाडौं । सुशान्त गौतमको डेव्यु निर्देहनमा निर्माण भएको सस्पेन्स-थ्रिलर सिनेमा ‘अभिमन्यु’को हिन्दी भर्सनको टिजर सार्वजनिक गरिएको छ । मंगलबार सार्वजनिक १ मिनेट ४० सेकेण्ड लामो टिजरले सिनेमाको कथावस्तु उजागर गर्दै प्रेम, रहस्य, अपराध र मनोवैज्ञानिक तनावलाई मुख्य रूपमा प्रस्तुत गरेको छ ।

पैसाका लागि अपहरणको योजना र छानबिनमा जुटेको प्रहरीको अनुसन्धान टिजरको केन्द्रमा छ, जसले दर्शकलाई रोमाञ्चक अनुभव गराउँछ । टिजरको सबैभन्दा आकर्षक पक्ष हिन्दी स्वरांकन हो । अभिनेता कामेश्वर चौरासियाको पात्रमा ‘केजीएफ’को हिन्दी भर्सनका भ्वाइस आर्टिष्ट सचिन गोलेले आवाज दिएका छन्, जुन प्रभावशाली सुनिन्छ ।

केही समयअघि ‘अभिमन्यु’को स्वरांकन गर्ने क्रममा एक भिडियो सन्देशमार्फत उनले नेपाली मेकरले एकदमै मिहिनेत गरेर राम्रो सिनेमा बनाएको बताएका थिए । मंसिर १८ गतेबाट नेपाली र हिन्दी भर्सन एकैसाथ प्रदर्शन हुन लागेको यस फिल्ममा कामेश्वरसहित लक्ष्मी बर्देवा, शिशिर वाङ्देल, सरिता गिरी, गौमाया गुरुङ, किरण श्रेष्ठ लगायतको अभिनय रहेको छ ।

सिनेमामा मुकेश खनालको लेखन तथा शरद महतोको छायांकन रहेको छ । सिनेमाका निर्माता विनोद पौडेल र गुञ्जन गिरी हुन् । विनोदले निर्माण गरेको अघिल्लो सिनेमा ‘पूर्णबहादुरको सारङ्गी’ले बक्सअफिसमा सर्वाधिक कमाइको कीर्तिमान बनाएको थियो ।

रमेश चौलागाई र हरि श्रेष्ठ सह-निर्माता रहेको सिनेमामा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन तथा मदन घिमिरेको सम्पादन रहेको छ ।