द सिनेमा टाइम्स, काठमाडौं । दिनेश राउतको निर्देशनमा निर्माण भएको लभस्टोरी सिनेमा ‘कुमारी’को पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक भएको छ । गीतसहित निर्माण टिमले सिनेमाको प्रदर्शन मिति पनि घोषणा गरेको हो । यो सिनेमा आगामी माघ २३ गते भ्यालेन्टाइन डेको अवसरमा देशव्यापी प्रदर्शनमा आउने छ ।
युवा दर्शकलाई लक्षित गरेर निर्माण गरिएको सिनेमाको निर्माण घोषणा टुँडिखेलमा आयोजित एक कार्यक्रमबीच आज सार्वजनिक गीतको लाइभ प्रस्तुतिसहित गरिएको थियो । गायक केहर सिंह लिम्बुको ब्याण्ड ‘केहर एन्ड द लुङ्गा’ले प्रस्तुत गरेको यो गीत हाल युट्युब र टिकटकमा विशेष गरी जेनजी पुस्ताबिच निकै लोकप्रिय बन्दै गएको छ ।
सिनेमाको मुख्य भूमिकामा अबिषेक खड्का र आकृति राजभण्डारी छन् । यी दुवै कलाकार यो सिनेमाबाट मुख्य भूमिकामा डेब्यु गरेका हुन् । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, शकु शाह, सरोज लामिछाने, मनीषा शर्मालगायत कलाकार पनि सिनेमामा देखिनेछन् ।
बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा निर्माण भएको सिनेमाका निर्माता महेन्द्र अधिकारी हुन् । विकास सुवेदीको कथा लेखन रहेको सिनेमाको छायांकन निर्देशन सुसन प्रजापति र कार्यकारी निर्माता केदार भुसाल हुन् ।
यो सिनेमामा चार गीत रहनेछन् । यी सवै गीतमा स्वर केहर सिंह लिम्बुले दिएका छन् । संगीतमा केहरलाई सुमन तामाङ र प्रशान्त सिवाकोटीले साथ दिएका हुन् । यो सिनेमामा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्लेले गीत रचना गरेका छन् ।
केन्द्र मोशन पिक्चर्स डिजिटल पाटर्नर रहेको सिनेमालाई काठमाडौं उपत्यकामा डीसीएन र मोफसलमा कुवेर सिने डिष्ट्रीब्युसनले वितरण गर्दैछन् ।
यसको प्रोडक्सन डिजाइनरमा आशिका शर्मा, मुख्य सहायक निर्देशकमा दिनेश बहादुर रावत, सम्पादन तथा रङ्ग संयोजनमा सुप्रिम पराजुली, साउन्ड डिजाइनमा उत्तम न्यौपाने, कोरियोग्राफरमा किरण थापा र शिशिर खाती पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ ।


प्रतिक्रिया