शोभित बस्नेत निर्देशित सुरज र बिनिताको ‘पीआर’ ट्रेलर सार्वजनिक

शोभित बस्नेत निर्देशित सुरज र बिनिताको ‘पीआर’ ट्रेलर सार्वजनिक

द सिनेमा टाइम्स
175
Shares

द सिनेमा टाइम्स, काठमाडौं । शोभित बस्नेतको निर्देशनमा निर्माण भएको सिनेमा ‘पीआर’को ट्रेलर सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सिनेमाको ३ मिनेट १ सेकण्ड लामो ट्रेलर सार्वजनिक गरेको हो ।

सिनेमाको सार्वजनिक ट्रेलरमा नेपालबाट पढ्नका लागि अष्ट्रेलिया पुगेका युवाहरुको कथा देखाइएको छ । अष्ट्रेलिया पुगेपछि युवाहरुको सपना पीआर कसरी पाउने र नेपालबाट जाँदाको ऋण तिर्न पैसा पठाउन नसक्दाको अवस्थालाई चित्रण गरिएको छ । सार्वजनिक ट्रेलरबाट सिनेमाको कथा प्रेम, बिछोड तथा आफ्नो देश नै प्यारो भन्ने सन्देश दिन खोजिएको छ ।

आगामी मंसिर २६ गतेबाट प्रदर्शनमा आउन लागेको सिनेमाको प्रचारका लागि अष्ट्रेलियामा बसोबास गर्दै आएका आरए सुरज पौडेल, विनिता कार्की नेपाल आएका छन् । उनीहरुको मुख्य भुमिका रहेको सिनेमामा राजन कुँवर, पूजा चौधरी, आश्मा अधिकारी, विमला खत्री, गणेश बुढाथोकी, म्याक्स कृष्ण थापा र नवीन घायल प्रमुख भूमिकामा छन् ।

यो सिनेमामा नीर शाह, गौरी मल्ल, रविन्द्र खड्का, उत्तम केसी र दिक्पाल कार्कीलाई विशेष भूमिकामा देख्न सकिन्छ । यो सिनेमाको ट्रेलरमा नीर शाहको बोलेको ‘नेपालीको जवानी अष्ट्रेलियामा लगानी’ संवादले दर्शकको मन छुने विश्वास निर्माण पक्षको छ । रञ्जित साह र सन्तोष तिवारीको प्रस्तुतीमा निर्माण भएको सिनेमामा लक्ष्मण सापकोटा र प्रदीप दाहालले लगानी छ ।

सलोन सलिना फिल्मस्को ब्यानरमा निर्माण भएको सिनेमा सौरभ सायमी र सौरभ लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, गणेश बुढाथोकीको लेखन, मानस राजको संगीत, सनुप पौडेल र नीतु पुनको स्वर तथा रामजी लामिछानेको कोरियोग्राफी छ । यो सिनेमालाई देशव्यापी वितरण आरआर फिल्म्सले गर्दैछ ।